Kanakai Online

बेलैमा पाउँदैनन् हात्ती पीडितले राहत


बुधवार, असार ९, २०७८ |

झापा, ९ असार-सरकारले बन्यजन्तुबाट मानवीय तथा भौतिक क्षति भएमा राहत तथा क्षतिपूर्ति रकम दिने कानूनी व्यवस्था गरेको छ । तर अधिकांश पीडितले बेलैमा सो रकम पाउँदैनन् । मेचीनगर नगरपालिका वडा नं ९ का ६५ वर्षीय श्याम राईको यही जेठ ४ गते घरछेउमा हात्तीको आक्रमणमा मृत्यु भयो ।

ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको राईको आश्रित परिवारले एक महिना बितिसक्दा समेत नगरपालिकाबाट काजकिरिया खर्च पाएनन् । जबकि नगरपालिकाले बन्यजन्तुबाट मृत्यु भएका परिवारलाई १३ दिनभित्रै किरिया खर्च भनेर रु २५ हजार दिने नियम बनाएको थियो । मृतककी पत्नी जुनबिरा राईले परिवारको भरणपोषणका लागि मजदुरी गर्दै आउनु भएको पतिको मृत्युपछि सङ्कट बढेको बताउनुभयो । उहाँले नगरपालिका र बन कार्यालय धाउँदा धाउँदा हैरान भइसकेको जनाउँदै राहतमा ढिलासुस्ती नगरिदिन आग्रह गर्नुभयो । बन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका– २०७५ मा हात्तीको आक्रमणमा मृत्यु भएको परिवारले रु १० लाख राहत दिने व्यवस्था छ । सख्त घाइतेको उपचार सम्पूर्ण व्यहोर्ने र सामान्य घाइतेलाई उपचार खर्च वापत रु २० हजारसम्म दिने कानूनी व्यवस्था छ ।

घरगोठ भत्काएको, भण्डारण गरेको अन्नबाली खाएमा र खाद्यबालीमा क्षति पुर्याएको अवस्थामा रु १० हजारसम्म क्षतिपूर्ति दिने सरकारी व्यवस्था रहेको डिभिजन बन कार्यालय झापाका प्रमुख मास्केले बताउनुभयो । विसं २०७७ फागुन २५ गते राति घरछेउमा हात्तीसँगको मुठभेडमा ज्यान जोगाउन सफल भद्रपुर नगरपालिका २ का आशबहादुर राईले घाइते भए पनि कुनै राहत तथा उपचार सहयोग नपाएको गुनासो गर्नुभयो । हात्ती धपाउन सहयोग पुग्ने एउटा फगी लाइट माग्दा समत नपाएको उहाँले बताउनुभयो । डिभिजन बन कार्यालय झापाले २०६२ सालदेखि हालसम्ममा हात्तीपीडित दुई हजार ७९५ जनालाई विभिन्न शीर्षकमा रु ४ करोड ४७ लाख १४ हजार ४४० राहत वितरण गरिएको जानकारी दिएको छ ।(रासस