Kanakai Online

झापामा चार दशकदेखि निरन्तर छ मानव–हात्ती द्वन्द्व


बुधवार, असार ९, २०७८ |

चन्द्रकला भण्डारी

झापा, ९ असार ः पन्ध्र दिन अघिमात्र शम्भु थापा र दुर्गा थापाको भागी बिहे भएको थियो । रातको मस्त निन्द्रामा थिए नव दम्पती । भारतबाट छिरेको जङ्गली हात्तीको बथानले ओछ्यानमै आक्रमण गर्दा दुवैको एक चिहान भयो । यो घटना विसं २०५९ असारमा झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा भएको हो ।

त्यही रात सोही गाउँका रणबहादुर दियालीको पनि हात्तीको आक्रमणमा मृत्यु भएको थियो । सधैँझैँ त्यसरात पनि नजीकको भारतीय जङ्गलबाट सयौँको बथानमा मेची नदी तरेर हात्ती गाउँ पसेका थिए । हात्तीले गरेको मानवीय क्षतिमध्येको एउटा भयानक घटना थियो त्यो । चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ । हात्तीको आक्रमणबाट हुने गरेको मानवीय क्षति रोकिएको छैन र न त उताबाट आउने गरेका हूलका हूल हात्ती रोक्ने भरपर्दाे प्रयास नै भएको छ । मेचीपारि भारतमा महानन्द वन्यजन्तु निकुञ्ज छ । पश्चिम बङ्गालको वन्यजन्तु संरक्षण गरिने उक्त जङ्गलमा आसामदेखि आउने हात्तीले बासस्थान बनाउने गरेका छन् । भारतको पश्चिम बङ्गाल र आसामसम्म फैलिएको करिडरमा हात्तीको कयौँ पुस्ताले नेपालको कोशीटप्पुसम्म विचरण गर्दै आएको विश्वास गरिन्छ । त्यहाँ दिनभर आराम गर्ने हात्तीको बथान साँझ परेपछि आहारको खोजीमा सीमा तरेर बाहुनडाँगी आइपुग्थे । खेतबारीमा लगाएका अन्न र फलफूल खाएर विनाश गर्ने हात्तीले मानिसलाई आक्रमणको निशाना बनाउँथे । आक्रमणमा अकालमा धेरैले ज्यान गुमाउनु प¥यो ।

चार दशकदेखि गुज्रिरहेको जङ्गली हात्ती र मानवबीच द्वन्द्वको कहिल्यै नसकिने यो सिलसिलाबाट अहिले पनि झापा आक्रान्त छ । मृत्युको ताण्डव रोकिएको छैन । यो अवधिमा कति मानिसको ज्यान गयो भन्ने पूर्ण तथ्याङ्क उपलब्ध छैन । तथापि सरकारी निकायहरुले पचासभन्दा बढीको मृत्यु भएको र ३० भन्दा बढी हात्ती मारिएको जनाएका छन् । द्वन्द्वमा मारिएका सर्वसाधारण र हात्तीको वास्तविक आँकडा सरकारले बताएभन्दा दोब्बर हुनसक्ने मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्च बाहुनडाँगीका संस्थापक अध्यक्ष ढुण्डीराज पौडेलको दाबी छ । डिभिजन वन कार्यालय झापाको तथ्याङ्कअनुसार विसं २०६८ देखि २०७८ जेठ मसान्तसम्ममा झापामा ४७ जनाको मृत्यु भइसकेको छ । जसमा पाँचजना गैरनेपाली पनि छन् । हात्ती छेक्न घरवरिपरि आफैँले लगाएको करेन्टमा परेर चारजनाले मृत्युवरण गरेका छन् । एक दशकमा ५९ जना हात्तीको आक्रमणमा घाइते भएको वन कार्यालयले जनाएको छ । “विसं २०४९ उता कति मान्छे मरे, कति हात्ती मारिए भन्ने यकिन रेकर्ड कहीँकतै भेटिँदैन,” विगत पचास वर्षदेखि हात्तीको उपद्रो देख्दै आउनुभएका ८४ वर्षीय पौडेल भन्नुहुन्छ, “प्रजातन्त्र आएपछि मात्र मृतकको तथ्याङ्क राख्न थालिएको हो ।” उहाँका अनुसार जननिर्वाचित जनप्रतिनिधिले नै मृतकका परिवारलाई काजकिरिया खर्च दिने व्यवस्थाको शुरुआत गरेका थिए । उन्नाइस हजार जनसङ्ख्या भएको तत्कालीन बाहुनडाँगी गाविसमा त्यस्तो कुनै टोल छैन, जहाँ हात्तीले बाली नचरेको र मानिसको ज्यान लिएको वा अङ्गभङ्ग नबनाएको होस् । विसं २०५२ देखि एक दशकसम्म चलेको माओवादी सशस्त्र द्वन्द्व कालमा बाहुनडाँगीका बासिन्दा जङ्गली हात्ती र माओवादी जनयुद्धको दोहोरो चपेटामा परे ।

यही अवधिमा सयौँ परिवार बाहुनडाँगीबाट विस्थापित भएर अन्यत्रै बसाइँ सरे । माओबादी द्वन्द्वकालमा कहालिलाग्दो अवस्था भोगे बाहुनडाँगीका बासिन्दाले । माओवादीको त्रासले तिरिङ, बाहुनडाँगी र नकलबन्दाको प्रहरी चौकी विस्थापित भएका थिए । दिनभरि बन्दुक बोकेका माओवादी पाल्नु पथ्र्यो भने रातभरि भारतबाट आउने हात्तीको उपद्रो सहनुपथ्र्यो । सीमामै हात्ती छेक्न गरिएको अन्तिम उपाय विद्युतीय तारबारले सफलता पाएपछि मात्र बाहुनडाँगीमा भारतबाट हात्ती हम्मेसी आउन सकेका छैनन् । रैथाने हात्तीको छिटपुट उपद्रो जारी रहे पनि दिनहुँ सयको सङ्ख्यामा बालबच्चा लिएर हात्ती आउने क्रम अहिले रोकिएको थियो । विसं २०६६ देखि बाहुनडाँगीको उत्तरी पहाडी क्षेत्र तिरिङदेखि दक्षिणी नकलबन्दासम्म १८ किलोमिटर लामो विद्युतीय तारबार सीमामा लगाइयो । लामो समयसम्म रोकिएका हात्तीको बथान तारबार भत्काएर विसं २०७८ को मध्य जेठदेखि फेरि आउन थालेको डिभिजन बन कार्यालय झापाका प्रमुख युवराज मास्केले बताउनुभयो । दैनिक ७० देखि डेढ सयसम्मको सङ्ख्यामा आउने हात्तीलाई सशस्त्र गस्ती टोलीले मेचीको बगरबाटै भारततिर फर्काउने गरेको उहाँले जानकारी दिनुभयो ।(रासस)

सम्बन्धित खबर