दमक, असार ५ गते । झापाको दमकमा चिया नास्ताको पसल सञ्चालन गर्ने काजी राउत स्थानीय रूपमा सबैमा परिचित नाम हो । दमक ६ बेलडाँगी रोडको एउटा घरको भित्रपट्टी कुनामा उहाँको चिया नास्ता पसल रहेको थियो ।
काजीको चिया पसल भनेर त्यसलाई चिनिन्छ ।जब दुई महिनाअघि दमकसहित झापामा कोरोना सङ्क्रमण दर बढेपछि उहाँको चिया नास्ता पसल बन्द भयो । उहाँ आफ्नै गाँउ घरतिर हानिनु भयो । झापा गाँउपालिका हो उहाँको घर । उहाँलाई घरमा त्यसै बस्न मन लागेन । खेतका डिलमा बाँस प्रशस्तै रहेका थिए । उहाँले बाँसका सामग्री बनाउने सोच्नु भयो ।सामाजिक सञ्जाल फेसबुकमा बाँस काटेकोदेखि त्यसलाई सुकाएको सम्म देखिरहेकाहरूले जब उहाँले बाँसको सोफा र टेबल बनाएको देखे त्यसपछि फेसबुकमा नै अर्डर आउन सुरु भयो । यसले उहाँलाई थप हौसला भयो । यस काममा उहाँका दुई छोरी र श्रीमतीले पनि साथ दिएको उहाँ बताउनु हुन्छ ।बाँसबाट धेरै प्रकारका सामग्री बनाउन सकिन्छ, उहाँले भन्नुभयो । कहि सिकेर भन्दा पनि घरमा गर्दागर्दा जानेको हुँ उहाँको भनाइ रहेको छ । बाँस तथा काठको काम गर्ने सबै सामानहरू आफूसँग रहेकाले काम स्ुरु गर्न मुस्किल नभएको पनि उहाँले जनाउनु भयो । अघिल्लो वर्ष उहाँसहित सबै परिवार लागेर घर बनाउनु भएको थियो ।बाँसको सोफा, टेबल र कुर्सिको माग काठमाडाँैदेखि आएको काजिले बताउनु भएको छ । “एउटा रेस्टुरेन्टका लागि भनेर तीन लाखभन्दा बढिको बाँसको विभिन्न सामग्रीहरूको माग रहेको छ”– उहाँले भन्नुभयो ।
उक्त रेस्टुरेन्टको माग अनुसारको फर्निचर अब एक साताभित्रमा सबै तयार हुने पनि काजिले जनाउनु भयो ।बाँसका सामग्रीहरू वर्षौसम्म नबिग्रने र आकर्षक देखिने भएकाले यसको माग पनि उच्च रहेको बताइन्छ । घर तथा होटल र कार्यालय प्रयोजनका लागि समेत बाँसबाट बनाइएका सामग्रीहरूको माग रहन्छ–काजि भन्नुहुन्छ । व्यवसायिक रूपमा यसरी उत्पादन गर्ने सोच नपालेको भएपनि निषेधाज्ञाले व्यवसायिक उत्पादन गराउने अवस्था सिर्जना गरेको उहाँले बताउनु भयो । त्यसै बस्नुभन्दा त केही न केही काम गरेर बस्नु पर्छ भन्ने मेरो र मेरो परिवारको मान्यता रहेको छ, उहाँले भन्नुभयो । यस्तो अवस्थामा गाउँमा हिड्डुल गर्न पनि नहुने र सबै घरमा बस्नु पर्ने भएकाले त्यसै त दिन काटन पनि त गाह्रो हुन्थ्यो, काजी भन्नुहुन्छ । आफ्नो कामको नेताहरूदेखि लिएर सबै चिनजान भएकाहरूले प्रशंसा गर्दा निक्कै खुसी लागेको पनि उहाँले जनाउनु भयो।यो खबर बिष्णुप्रसाद पोखरेलले गोरखा पत्र दैनिकमा लेखेका छन।