शरणामती,असार ४।झापाको झापा गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरुका लागी पहिलो र दोस्रो चरणको १४ दिने बृहत पोषण प्याकेज सम्बन्धी क्षमता अभिवृद्धि तालिम बिहीवार सम्पन्न भएको छ ।
गाउँपालिकाले ७ वटै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई चरणबद्द रुपमा १४ दिने क्षमता अभिवृद्धि तालिम सुरु गरेको थियो । पोषण सम्बन्धि वृहत विषयबस्तुको एकीकृत प्याकेज सम्बन्धी स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने, पोषण सम्बन्धी व्यवहारमा परिवर्तन गरि ज्ञान सीपको धारणामा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले तालिमको आयोजना गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख लक्ष्मण बिश्वकर्माले जानकारी दिनुभयो ।
तालिमबाट आफुँले बालबच्चाको कसरी बृद्दीविकास हुन्छ भन्ने कुरा सिकेको बताउँदै प्रशिक्षार्थी स्वास्थ्यकर्मी अन्जु थपलियाले तालीमलाई व्यवहारमा लागू गराउँने प्रतिवद्दता व्यक्त गर्नु भयो।
समापन कार्यक्रममा ७ नं वडाध्यक्ष नेत्र प्रसाद उप्रेतीले बालबालिकाको जीवनरक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण एक दरिलो जग भएको बताउनु भयो ।उहाँले पोषण प्याकेजका कार्यक्रममा गाउँपालिकाका तर्फबाट उचित बजेट विनियोजन गर्ने तर्फ आफुँले पहल गर्ने प्रतिवद्दता समेत व्यक्त गर्नु भयो।
तालिमको समापन गर्दै वडा नं ६ का वडाध्यक्ष हरिवहादुर बानियाँले तालिममा सिकेका कुरा स्वास्थ्यकर्मीले आ–आफ्नो कार्यक्षेत्रमा लागू गर्ने विश्वास ब्यक्त गर्नुभयो । पोषणको अवस्थामा सुधार गर्न स्वास्थ्यकर्मीले विशेष भुमिका खेल्नुपर्ने बताउँदै उहाँले कुपोषित हुन नदिन पूर्व योजनाहरू अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
गाउँपालिकाले पहिलो चरणमा बैशाख १६ गते देखी २२ गतेसम्म १५ जना र दोस्रो चरणमा २३ गते देखि २९ गते सम्म १५ जना गरि कुल ३० स्वास्थ्यकर्मीहरुले बृहत पोषण प्याकेज सम्बन्धी क्षमता अभिवृद्धि तालिम दिने भनिएता पनि देशव्यापी कोरोना कहर फैलिएपछी कार्यक्रम समापन मिती सरेको बिश्वकर्माले बताउनु भयो । तालिममा कुपोषणको अवस्था, पोषिलो खानेकुराहरू, व्यवहार परिर्वतन,सरसफाइ, पोषणको अवस्था सुधारमा भावी कार्ययोजना लगायतका विषयमा प्रशिक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।