कनकाई अनलाईन
लकडाउन र खाद्य सामाग्रीको अभावको मौका पारि म्याद सकिएका सामाग्रीहरु विक्री गर्ने गरेको गुनासो बढेसगै कनकाई नगरपालिकाले आफ्नो बजार क्षेत्रमा अनुगमन तीव्र पारेको छ ।
अनुगमन संयोजक कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईको नेतृत्वमा रहेको अनुगमन टोलीले आज लक्ष्मीपुर, दुर्गापुर, घैलाडुब्बा बजार क्षेत्रको अनुगमन गरि बजार क्षेत्रबाट म्याद सकिएका खाद्य सामाग्रीहरु आटा, तेल, बिस्कुट, पेय पदार्थ अचार, दाल लगायातका सामाग्रीहरु बरामद गरि प्रहरी र पत्रकारको उपस्थितिमा नष्ट गरेको छ ।
अनुगमन समिमितका कनकाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद न्यौपानेले कोरोना महामारीका वेला मौकाको फाइदा उठाउन खोज्ने र अन्जानवश मिति नाघेका सामाग्री विक्री गर्न खोज्नेहरुलाई एकपटक कागज गराएर सचेत गराएर छाडिएको बताउँनुभयो ।
यो विचमा खाद्य सामाग्रीहरुको मुल्य सुची नराख्ने र आवश्यक कागजात तथा बिल नराख्ने पसलहरुलाई समेत सचेत गराएर छाडिएको अनुगमन समितिका सदस्य प्रशासकिय अधिकृत विवेक भण्डारीले बताउँनुभयो ।
अनुगमनका क्रममा फेला परेको म्याद नाघेका खाद्य सामाग्रीलाई बिरिङ्ग नदि किनारामा लगि नष्ट गरिएको थियो ।
कनकाई नगरपालिका क्षेत्रमा हप्ताको दुई दिन बिहान ६ बजेदेखि ९ बजेसम्म सामाजिक दुरी र सुरक्षा मापदण्ड पुरा गरेर खाद्य सामाग्रीहरु बिक्री गर्न दिने गरिएको कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईले बताउँनुभयो ।
अनुगमन टोलीमा नेपाल पत्रकार महासंघ प्रदेश समिति सदस्य लीलाराज झापाली, कनकाई नगरपालिकाका आन्तरिक लेखाका कृष्ण रिमाल, इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रहरी प्रमुख भुवन कार्की, कनकाई नगरपालिकाका कर्मचारी भोजराज आचार्य, बिजय पाठक लगायातको सहभागिता रहेको थियो ।