Kanakai Online

भारी बर्षामा मकैको ढोडको टहरा र त्रिपालमुनि सुरक्षामा तैनाथ सशस्त्र प्रहरी


शनिवार, जेठ १५, २०७८ |

शरणामती,जेठ १५।यतीखेर बंगालको खाडीमा आएको चक्रपातको प्रभावले मुलुक भरी वर्षा भइरहेको छ।यसको प्रभाव झापा गाउँपालिकामा समेत परेको छ।एकातिर कोरोना कहरले जनजिवन प्रभावित बनेको छ भने अर्कातिर बर्षाका कारण जनजिवन प्रभावित बनेको छ।

कोरोना भाइरस न्युनिकरण गर्न देश भर निषेधाज्ञा जारी छ।यो संगै झापा जिल्लाले समेत निषेधाज्ञामा थप कडाइ गर्दै लम्बाएको छ।निषेधाज्ञा लम्बाइए संगै सिमामा कडाई गरिएको छ।तर,कोरोना नियन्त्रणका लागि खुल्ला नेपाल भारत सिमामा खटिएका सशस्त्र प्रहरीले भने भारी बर्षाका कारण सास्ती झेल्नु परेको छ।भारी बर्षामा समेत मकैका ढोडको छानोले बनाइएको टहरा र त्रिपाल टाँगेर बनाइएका टेन्टबाट अहोरात्र ड्युटी गर्नु परेको छ।

झापा गाउँपालिकाको १५ किलोमिटर नेपाल भारत खुल्ला सिमामा यति खेर १४ अस्थायी पोस्ट निर्माण गरिएको सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानले बताए।´बिओपी टाघनडुब्बा र पन्थापाडामा गरेर कुल ९५ जना शसस्त्र प्रहरी कार्यरत छन।’

घाम,पानी,हावा हुरी केही नभनी सिमामा तैनाथ सुरक्षाकर्मी सिमित स्रोत र साधनका बिच नागरिकलाई सुरक्षा दिइरहेका छन।त्यसो त कोरोनाको कहरका कारण केही जवान संक्रमित समेत भएका छन।कोरोना संगै पानीको प्रकोपले थप बिरामी पर्ने समेत चिन्ता बढेको छ।मौसम पुर्वानुमान साखाले अझै तीन दिन सम्म मौसम सफा नहुने जनाइरहेका बेला सुरक्षाकर्मीलाई भने थप चिन्ता थपिएको छ।बर्षायामको मनसुन हो आकासबाट पानी परे संगै नदीहरुमा समेत पानीको बहाब बढ्नेछ।यसै पनि झापा गाउँपालिकाका सालमारा,सितुमारी,मिलनबस्ती डुबानमा पर्ने क्षेत्रहरु हुन।

बर्षौ यहाँका दर्जनौ घरदुरी बाढीबाट विस्थापित हुने गरेका छन।डुबानमा परेका परिवारलाई शसस्त्र प्रहरी,नेपाल प्रहरी र स्थानिय मिलेर उद्दार गर्ने गरेका छ्न।यो संगै सिमित जनशक्तीमा सिमामा कोरोना रोकथाम गर्ने कि बाढी पिडितको उद्दार गर्ने थप चुनौती थपिएको प्रधान बताउछन।