भद्रपुर, ९ जेठ ।भद्रपुर स्थित कोरोना विशेष अस्पतालमा उपचारमा रहेका विरामीहरूले समयमा खाना खान नपाँउदा रोगबाटभन्दा भोकबाट मर्ने अवस्था आएको भन्ने गुनासो सम्बोधन भएको छ ।
व्यवस्थापकीय कामजोरीले समयमा खान नपाएका विरामीहरूको गुनासो विभिन्न सञ्चारमाध्यमबाट समचारका रूपमा प्रकाशित भएपछि अस्पताल प्रशासनले कमजोरी सुधार गर्दा आजबाट समयानुसर खानपानको व्यवस्था मिलेको हो ।
कोभिड १९ संक्रमणले सिकिस्त भएका विरामी मात्र उपचारका लागि पुग्ने गरेको कोरोना विशेष अस्पतालमा व्यवस्थापकीय कमजोरीका कारण अस्तव्यस्त हुन पुगेको विरामीहरूले फेसबुक मार्फत सार्वजनिक गर्न थालेपछि अस्पताल प्रशासनले कमजोरी सुधार गरेर चुस्त वयवस्थापनतर्फ लम्किएको एक विरामीले जानकारी दिए । उनका अनुसार आज विहा ७ वजे नास्ता आइसकेको थियो भने ९ वजे खानाको प्रबन्ध मिलेको थियो । हिजो अस्तिभन्दा आजबाट खानाको गुणस्तर तथा सरसफाइमा समेत निकै सुधार भएको छ ।