कनकाई अनलाईन
झापा – झापामा पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। त्यसमा नौजना झापा र दुईजना जिल्ला बाहिरका छन्। मेचीनगर नगरपालिका र भद्रपुरका भद्रपुर नगरपालिका तीन ÷ तीन जनासहित नौजनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा कनकाई नगरपालिका, बिर्तामोड नगरपालिका र कचनकवल गाउँपालिकाका एक÷ एकजना रहेका छन्। मेचीनगर–६ का ६० वर्षीय र १० का ६६ वर्षीय पुरुषको बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो। मेचीनगर–१० कै ३९ वर्षीया महिलाको मेची प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो।
कोरोनाको दोस्रो लहर सुरु भएयता मेचीनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। मेचीनगर ६ मा मात्रै चार जनाको मृत्यु भएको हो। त्यसैगरी मृत्यु हुनेमा भद्रपुर–९ की ८८ वर्षीया बृद्धाको होम आइसोलेसनमा, भद्रपुर–४ का ४९ वर्षीय संक्रमितको नोवेल हस्पिटल विराटनगर र सोही वडाका ४८ वर्षीय पुरुषको मेची अस्पतालमा मृत्यु भएको हो। योसँगै भद्रपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ। त्यस्तै कनकाई नगरपालिका–७ का ६० वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो।
त्यस्तै बिर्तामोड–१ की ५३ वर्षीया महिलाको बिएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो। योसँगै दोस्रो लहरको संक्रमणका कारण बिर्तामोडमा पाँचजनाको मृत्यु भएको छ। कचनकवल–५ का ७० वर्षीय बृद्धको मेची प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। योसँगै झापामा संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १७० पुगेको छ।
दमकमा दुईजना संक्रमितको मृत्यु भएको छ। दमक कोभिड अस्पतालमा मोरङ राजघाटकी ४६ वर्षीया महिला र आम्दा अस्पताल दमकमा रुपन्देहीका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो। दमक अस्पतालकी सूचना अधिकारी देवी दंगालका अनुसार दमकका चार अस्पतालमा अहिले ६३ जना कोभिडका बिरामीको उपचार भइरहेको छ। जसमध्ये दुईजना लाइफलाइन अस्पतालको भेन्टिलेटरमा छन्। तीमध्ये १३ जना झापा बाहिरका हुन्।
कहाँ कति संक्रमित?
झापामा पछिल्लो २४ घण्टामा ३७१ संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै उच्च अंक को। पिसिआर विधिमार्फत ३२५ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४६ जनामा संक्रमण पुष्टि भएको हो। जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार पिसिआरबाट गरिएको परीक्षणमा महिला १६४ र पुरुष १६१ तथा एन्टिजेनबाट गरिएको परीक्षणमा २५ महिला र २१ पुरुष संक्रमित भएका हुन्। सबैभन्दा बढी बिर्तामोड नगरपालिकाका ४९ महिलासहित ९० जना संक्रमित भएका छन्। यस्तै, भद्रपुरमा २१ महिलासहित ५६ जना, अर्जुनधारामा २४ महिलासहित ५० जनामा संक्रमण पुष्टि भएको छ।
मेचीनगरमा १६ महिलासहित ३१ जना, कनकाईमा १५ महिलासहित २४ जना, दमकमा १२ महिलासहित २२ जना, बुद्धशान्तिमा ११ महिलासहित २० जनामा संक्रमण पुष्टि भएको छ।
कोभिड फोकल पर्सन जीवन चौलागाईंका अनुसार गौरादहका १० महिलासहित १८ जना, कमलमा सात महिलासहित १३ जना, शिवसताक्षीमा ६ महिलासहित १२ जना, बाह्रदशीमा एक महिलासहित पाँचजना, कचनकवलमा दुई महिलासहित पाँचजना, झापामा तीन महिलासहित चारजना, पालिका नखुलेका पाँच महिलासहित आठजनामा पनि संक्रमण पुष्टि भएको छ।
पिसिआरमार्फत गरिएको परीक्षणमा ४ हजार ९९२ र एन्टिजेनबाट गरिएको परीक्षणमा ३०५ जना कुल संक्रमित भएका छन्। यस्तै, ४ हजार ६९२ जना निको भएर घर फर्किएका छन्। विभिन्न आइसोलेसनमा २ हजार १४१ जना सक्रिय संक्रमित रहेका छन्।
अस्पतालमा १२२ जना
झापाका विभिन्न अस्पतालमा १२२ जना सक्रिय संक्रमितको उपचार भइरहेको छ। मेची अस्पतालमा ३४, दमक अस्पतालमा १०, बिएण्डसीमा ४१, बिर्तासिटीमा १३, आम्दामा १५, एड्भान्समा ९ जना सक्रिय संक्रमितको उपचार भइरहेको ती अस्पतालहरुले जनाएका छन्।
कहाँ के छ व्यवस्था
कोरोना संक्रमितको उपचारका लागि झापाको मेची अस्पतालमा ९८, दमकमा ३०, बिएण्डसीमा २००, बिर्तासिटीमा ४६,आम्दामा १५, एड्भान्समा १० र निम्समा सात गरी ४०६ वटा जेनरल बेडको व्यवस्था गरिएको छ। जिल्लाका विभिन्न अस्पतालमा ७९ वटा आइसियुको व्यवस्था गरिएको छ। जहाँ ४३ जना उपचाररत छन्। ९८ वटा एचडियुको व्यवस्था गरिएको छ। त्यहाँ ४५ जना उपचाररत छन्। त्यस्तै झापाका विभिन्न अस्पतालमा ४९ वटा भेन्टिलेटर रहेको जनाइएको छ। त्यहाँ ६ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।