झापा,बैशाख २९ । झापामा चलिरहेको निषेधाज्ञालाई जेठ १ गतेबाट कडाइ गरिने भएको छ जिल्ला समन्वय समिति झापाले संयोजन गरेको भर्चुअल सम्वादमा बुधबार आफ्नो धारणा राख्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले निषेधाज्ञालाई अझ थप प्रभावकारी बनाउने बताए ।
सञ्चारकर्मीहरुसँगको अन्तक्र्रियात्मक कार्यक्रममा प्रजिअ तिमिल्सिनाले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै अबको निषेधाज्ञालाई कठोरताका साथ कडाई गरिने जानकारी दिए ।
जिल्लाका उच्च सुरक्षा अधिकारी, चिकित्सक, राजनीतिक दल, जनप्रतिनिधि सबैबाट निषेधाज्ञा खुकुलो भएको र प्रभावकारीता कम देखिएको प्रतिक्रिया आइरहेकोतर्फ प्रशासनको ध्यानाकर्षण भएको बताउँदै तिमिल्सिनाले जेठ १ गतेबाट हालको निषेधाज्ञालाई थप परिमार्जन गर्दै आवतजावतलाई निरुत्साहन गरिने बताए ।
जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेलले जिल्लामा अत्यावश्यक वस्तु खरिदको नाममा भिडभाड बढ्दै गएको र अनावश्यक सवारी साधनसमेत सञ्चालनमा आइरहेकोतर्फ प्रजिअ तिमिल्सिनाको ध्यानाकर्षण गराएका थिए ।
सञ्चारकर्मीहरुले जिल्लामा हाल रहेको स्वास्थ्य उपचारको अवस्था, फर्जी परिचय पत्रको बढ्दो प्रयोग, क्वारेन्टिन तथा आइसोलेसनको व्यवस्थापन, निषेधाज्ञाको प्रभावकारीताको बिषयमा जिज्ञासा तथा सुझाव प्रस्तुत गरेका थिए ।
झापामा १९ गतेबाट जारी गरिएको आंशिक निषेधाज्ञालाई २४ गते बुधबारबाट पूर्णरुपमा लागु गरिएको थियो । पहिलो हाल जारी रहेको निषेधाज्ञा वैशाख ३१ गतेराति १२ बजे सकिदैछ ।