Kanakai Online

झापामा नागरिकता र राहदानी वितरण बन्द


आइतवार, वैशाख १९, २०७८ |

भद्रपुर,बैशाख १९ ।जिल्ला प्रशासन कार्यालय झापाले सर्वसाधारणसँग सम्बन्धित सबै प्रकारका नियमित सेवा स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण र यसबाट उत्पन्न जटिल परिस्थितिपछि प्रशासनले उपलब्ध नियमित सेवा स्थगन गर्ने निर्णय गरेको हो ।

आंशिक निषेधाज्ञाको पूर्वसन्ध्यामा झापा प्रशासनले सूचना जारी गरी कार्यालयले उपलब्ध गराउँदै आएका नियमित सेवा बैशाख २६ गते सम्मका लागि स्थगन गरिएको जनाएको छ । झापामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि प्रशासनले एकसाता लामाे निषेधाज्ञा जारी गरेको छ ।

कार्यालयले सेवाग्राहीको बढ्दो भीडलाई ध्यानमा राखेर नागरिकता, नागरिकताको प्रतिलिपि र नाबालक सिफारिस गर्ने कार्य स्थगित गरेको छ । निषेधाज्ञा अवधिभर राहदानी वितरण र सिफारिसको काम पनि नहुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताउनुभयो ।

प्रशासनले हातहतियार दर्ता र नवीकरणको काम समेत स्थगित गरेको छ । नयाँ संस्था दर्ता र नवीकरणको काम समेत नहुने भएको प्रशासनद्वारा जारी सूचनामा जनाइएको छ । प्रशासनले राष्ट्रिय परिचयपत्र वितरणको काम समेत तत्कालका लागि रोकिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले निषेधाज्ञा अवधिभर शान्ति सुरक्षासँग सम्बन्धित कामहरु नियमित हुने र अत्यावश्यक सिफारिसका कार्यहरु जारी राखिने जानकारी दिनुभयो ।

सम्बन्धित खबर