Kanakai Online

यूटबर तथा टिकटकले गिजोलेको समाज


आइतवार, वैशाख १२, २०७८ |

लेखक-उदय मैनाली

सूचना प्रविधिको विभिन्न माध्यमहरु मध्येको टिकटक पनि एक हो । अहिले विश्वका अधिकांश मुलुकमा टिकटकले आफ्नो बजार लिइरहेको देख्न सकिन्छ । टिकटक पाँच–छ वर्षका बालबालिकादेखि लिएर साठी–सत्तरी वर्ष उमेर समूहका बूढाबूढीहरुमाझ लोकप्रिय बनेको छ । यसले मानिसहरुको कला, गला सहजरुपमा सार्वजनिक गर्न निकै सहयोग त गरेको छ । यसका धेरै राम्रा पक्षहरु भए तापनि यसका नराम्रा पक्षहरुको बढी अनुकरण गरेकैले सुरक्षाको कारण भारतलगायत अन्य कतिपय देशमा बन्द नै गरिएको अवस्था देखिन्छ ।नेपालमा पनि टिकटकको राम्रा पक्षहरुभन्दा नराम्रा पक्षहरु बढी हाबी भएको पाइन्छ । अहिले नेपाली बजारमा टिकटकमा रमाउने र जे मन लाग्यो त्यही टिकटक बनाएर अपलोड गर्ने कामको प्रतिस्प्रधा नै चलेको पाइन्छ । यसमा विभिन्न प्रकारका छोटा–छोटा भिडियोहरु बनाई अपलोड गर्न मिल्ने र लाइक, कमेन्ट, भ्यु र फलोअर्सको निकै ठूलो महत्व हुने गर्दछ ।राम्रा पक्ष र नराम्रा पक्षको विचार नै नगरी अर्काको अनुकरण गर्ने नेपाली समुदाय पनि टिकटकमा निकै नै रमाएको देखिन्छ । नेपाली बजारमा पनि स–साना बालबालिकादेखि लिएर युवा तथा साठी–सत्तरी वर्षसम्मका बूढाबूढीहरु पनि टिकटकमा रमाउने गरेको देखिन्छ ।

टिकटकले अन्य सामाजिक सञ्जालहरुलाई पछि पार्दै नेपाली बजारमा राम्रै स्थान लिन सफल भएको छ । तर यसका राम्रा पक्षहरुले भन्दा नराम्रो पक्षहरुले नै नेपाली समाजमा प्रभाव पारेको पाइन्छ ।टिकटकले मानिसहरुको ज्यानसमेत लिएका कति घटनाहरु विभिन्न मिडियाहरु मार्फत पढ्न र सुन्न पाइन्छ । जस्तै कि पोखरा महानगरपालिका–१४, मनकामना टोल बस्ने आठ वर्षीया बालिका प्रनिशा बानिया घरको छतमा बसेर टिकटक बनाउने क्रममा अचानक लड्न गई गम्भीर घाइते भइन् । अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भयो । उता तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा झुलुङ्गे पुलमा टिकटक बनाउने क्रममा पुलबाट खसेर गम्भीर घाइते भए । उनको पनि उपचारको क्रममा मृत्यु भएको खबर विभिन्न मिडियाहरुबाट पढ्न र सुन्न पाइएको थियो ।

यसरी नेपाली समाजमा टिकटकले मान्छेको ज्यानसमेत लिइरहेको छ । अर्कोतिर टिकटकमा विभिन्न भिडियो बनाई अपलोड गरेर धेरैभन्दा धेरैलाई फलोअर्स बढाउने होड चलेको देखिन्छ । टिकटक बनाएर भाइरल हुने क्षणिक उद्देश्यले हाम्रो सामाजिक रीतिरिवाज, चालचलनलाई नै तिलाञ्जलि दिन पछि नपर्ने परिपाटी विकास गरेको अनुभव गर्न सकिन्छ । टिकटकमा उपलब्ध केही नेपाली भिडियोहरु चेतनामूलक र कलात्मक भए तापनि कतिपय भिडियोहरु त नेपाली समाजले सहजै स्वीकार्न नसक्ने छाडा र समुदायको सद्भाव बिगार्ने खालका पनि पाइन्छन् ।

जसले नेपाली समाजलाई धमिल्याउने काम गरिरहेको छ। टिकटकमा रमाउन चाहने नेपाली समुदायले भिडियोहरुलाई आमनागरिकहरुले विश्वास गर्न सक्ने सन्देशमूलक, सही सूचनामूलक र नेपाली धर्म, संस्कृति, परम्परा, मूल्य–मान्यता तथा माटो सुहाउने किसिमका बनाउनुपर्ने होइन र ? टिकटक भिडियो बनाउने र बनाइएका भिडियोहरु विषयवस्तु नै नलाग्ने विषयलाई लाखौंले हेरेर हजारौंले कमेन्ट, लाइक, शेयर गरिरहेका हुन्छन् । अनावश्यक विषय हेरेर समय बरबाद गरिरहेको देखिन्छ। टिकटक भिडियो बनाउने र बनाइएका भिडियोहरु हेर्ने समुदायले समयको दुरुपयोग गरिरहेका छन् । आज आधुनिक प्रविधि भित्र्याउने नाममा नेपालीहरुको वास्तविकता नै हराएर अस्तित्व विहीन हुने अवस्थामा नेपाली समाज आइसकेको अनुभव गर्न सकिन्छ ।पहिले मोबाइल, फेसबुक, युट्युब, टिकटक आदि सामाजिक सञ्जाल नभएका समयमा जसरी आफूभन्दा ठूला मान्छेका कुरा सुन्ने, उनीहरुका अनुभव सुन्ने, रमाइलो गर्ने, एक–अर्काको अनुभव आदानप्रदान गर्ने लगायतका संस्कृतिहरु नेपाली समाजबाट हटिसकेको पाइन्छ ।

किनकि आजका युवापुस्ताहरु मोबाइल तथा विभिन्न सामाजिक सञ्जालमै व्यस्त भई रमाउन मन पराउने गर्दछन् ।आजका युवापुस्ताहरुले नेपाली समाजको मौलिकता गुमाइसकेका छन् । कतिपय अवस्थामा टिकटकमा रमाउन मन पराउने समुदायले रमाइलो गर्ने र भाइरल हुने बहानामा जथाभावी भिडियो बनाई अपलोड गर्दा व्यक्ति तथा संगठनात्मक गोपनीयता पनि भंग भैरहेका घटनाहरु पनि हुने गरेका छन् ।यदि समयमै यसको नियन्त्रण गर्न नसकेको खण्डमा यसले नेपाली समाजलाई क्रमशः नङ्ग्याउँदै लैजाने छ । सामाजिक सद्भाव भड्कने छ । जुन नेपाली समाजको लागि राम्रो पक्ष हुँदैन । हुन त हरेक उमेरका बालक, वृद्ध, र युवाहरुमा बढ्दो सामाजिक सञ्जालप्रतिको गहिरो लतलाई मध्यनजर गरी सरकारले विभिन्न विधेयक तथा कानुनमार्फत सामाजिक सञ्जालले निम्त्याएको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकृति नियन्त्रणको प्रयास पनि गरिरहेको देखिन्छ । तर यो विकराल बन्दै गएको समस्यालाई नियन्त्रण गर्न सानोतिनो प्रयासले मात्रै सम्भव हुने अवस्था देखिँदैन ।सरकारले यो सामाजिक विकृति तथा समस्यालाई रोक्नका निम्ति यस्ता सामाजिक एपहरुको समयमा नै कडाभन्दा कडा कानुनको दायरामा राख्न नसकेमा वा बन्द गर्न नसकेमा समाजमा अझ अशान्ति पैदा भई सामाजिक सद्भाव भड्केर जाने देखिन्छ ।

त्यसैले अहिले नेपाली समाज बिग्रँदै जानुमा सामाजिक सञ्जाल लगायत टिकटक र युट्युबले व्यापक स्थान ओगटी महत्वपूर्ण भूमिका खेलिरहेको यो अवस्थामा यस विषयमा सम्बन्धित निकाय, राजनीतिक दल, बुद्धिजीवी, समाजसेवी तथा सबैको ध्यान जानुपर्ने अति जरुरी देखिन्छ । त्यस्तै गरी टिकटकमा रमाउने समुदायले पनि यसतर्फ सचेत र इमानदारी भई यस्ता एपहरुको सदुपयोग गर्नु आवश्यक छ । यस्ता भिडियो हेरी रमाउने समुदायहरुले पनि अबदेखि सन्देशहीन तथा सूचनाहीन विषयवस्तुका भिडियोहरुलाई बहिष्कार गर्न सक्नुपर्दछ । सन्देशमूलक तथा सूचनामूलक भिडियो मात्र हेरौं र लाइक, कमेन्ट तथा शेयर गर्ने गरौं । अर्थहीन तथा सामाजिक सद्भाव खलबल्याउने खालका भिडियोहरु नहेरौं । यस्ता प्रयास गर्न सकेको अवस्थामा टिकटक तथा युट्युबहरुलाई सही बाटोमा ल्याउन सहयोग पुग्ने देखिन्छ । गलत प्रवृत्ति हतोत्साहित हुनेछ । जसले गर्दा सभ्य तथा समुन्नत समाज कायमै रहनेछ भने समाजमा शान्ति तथा समुन्नत समाजको अझ विकास गर्न सहयोग पुग्ने देखिन्छ । त्यसैले यो अभियानमा प्रत्येक नागरिक जागरुक हुन अति आवश्यक भैसकेको छ । आफ्नो तथा आफ्नो परिवार, समाज, राष्ट्रको रक्षार्थका निम्ति यो हामी सबै नेपालीहरुको साझा दायित्व ।