Kanakai Online

रनिङशील्ड विजेता खेलाडीलाई भद्रपुर नगरपालिकाद्वारा बधाइसहित सम्मान


बुधवार, वैशाख ८, २०७८ |

गंगा बराल भद्रपुर । झापा जिल्लास्तरीय राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि जित्न सफल आफ्ना खेलाडीहरुलाई भद्रपुर नगरपालिकाले बधाइसहित सम्मान गरेको छ । यही चैत ३, ४ र ५ गते मेची रंगशालामा आयोजित प्रतियोगितामा जिल्लाका १४ वटा पालिकालाई पछि पार्दै भद्रपुर नगरपालिकाले १५ स्वर्ण, ५ रजत र ६ कास्य पदक जित्दै उपाधिमा कब्जा जमाएको थियो ।

भद्रपुरले एथ्लेटिक्समा ९, उसुमा ३, तेक्वान्दोमा २ र कबड्डीमा १ स्वर्ण जित्यो भने एथ्लेटिक्समा ३ र उसुमा २ रजत जितेको छ । एथ्लेटिक्समा ४, तेक्वान्दो र उसुमा १÷१ कास्य जितेको छ । स्थानीय तहको प्रतिनिधित्व रहने गरी पहिलोपटक आयोजना भएको प्रतियोगिताको उपाधि जित्नु ऐतिहासिक भएको भन्दै भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले विजेता खेलाडीहरुलाई बधाइसहित सम्मान गरेका थिए ।

नगरपालिकाको सभाहलमा बुधबार नगर खेलकुद विकास समितिका अध्यक्ष श्यामकुमार राउतको अध्यक्षतामा आयोजित संक्षिप्त समारोहमा नगरप्रमुख श्रेष्ठले नगरको खेलकुदको विकास र खेलाडीको क्षमता विकासमा नगरपालिकाले कुनै कसर नराख्ने प्रतिबद्धता जनाएका थिए । नगर शिक्षा खेलकुद तथा युवा शाखा प्रमुख प्रेम भुजेलले सञ्चालन गरेको समारोहमा प्रतियोगितामा सहभागी खेलाडी तथा खेल प्रशिक्षकहरुलाई अबिर, फूलमाला पहिर्याएर समान गरिएको थियो । सम्मानपछि नगरप्रमुख श्रेष्ठसहित खेलाडी तथा खेल प्रशिक्षकहरुले पहिलो ऐतिहासिक विजयोत्सवको रुपमा ‘हिप् हिप्, हुर्र्रे…’का साथ नगर परिक्रमा गरेका थिए ।

सम्बन्धित खबर