झापा, ४ वैशाख :पत्रकारिताको माध्यमबाट नागरिक अधिकारको आन्दोलनमा योगदान पु¥याएको भन्दै झापाका अग्रज पत्रकार चन्द्र भण्डारीलाई आज ‘उत्कृष्ट नागरिक सम्मान’ दिइएको छ । कञ्चनजङ्घा एफएमका प्रबन्ध निर्देशक तथा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय महासचिव भण्डारी नेपाली कम्युनिस्ट आन्दोलनका योद्धा हुनुहुन्छ ।
उहाँले पञ्चायती शासनको विरोध र प्रजातन्त्र स्थापनाका लागि आन्दोलन गर्दा १० वर्षको जेल जीवन बिताउनुभएको थियो । अनेरास्ववियुका केन्द्रीय अध्यक्ष, मेचीनगर नगरपालिकाको प्रथम जननिर्वाचित उपप्रमुखलगायतका अनेकौँ जिम्मेवारी सम्हालिसक्नुभएको उहाँ पछिल्ला दिनमा जनमुखी रेडियो पत्रकारिताको अभियानमा हुनुहुन्छ । साहित्य, सङ्गीत र वातावरण संरक्षणमा विशेष रुचि राख्नुहुने उहाँका रेकर्ड भइसकेका कयौँ जनवादी गीत लोकप्रिय छन् भने कञ्चनजङ्घा एफएमबाट प्रसारित हुने कारावासका सन्देश, अन्तरवार्तामूलक समय सन्दर्भ, सिमानापारि, कोरोना विशेषजस्ता कार्यक्रम चर्चित छन् । विषादी प्रयोगविरुद्ध अग्र्यानिक आन्दोलन सञ्चालन गरिरहनुभएका भण्डारीले पत्रकारिताका माध्यमबाट लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लागि पु¥याएको योगदानको कदर गर्दै झापाको उत्कृष्ट नागरिक सम्मान समर्पण गरिएको सम्मान छनोट समितिका संयोजक एवं अनारमनी पब्लिक क्याम्पसका प्राचार्य मोहन शिवाकोटीले बताउनुभयो ।
वीरता जेसिजले हरेक वर्ष एक जना झापाली समाजसेवीलाई यो सम्मान दिँदै आएको छ । यसपटक पत्रकारिता विधामा सम्मान दिइएको जेसिजका पूर्वअध्यक्ष सजेश शिवाकोटीले बताउनुभयो । आज विर्तामोडको अतिथि सदनमा आयोजित विशेष समारोहमा नेपाल विद्युत् प्राधिकरणको पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङले भण्डारीलाई सम्मानपत्र प्रदान गर्नुभयो । कार्यक्रममा सम्मानित प्रतिभा भण्डारीले आफूले पाएको सम्मानबाट जिम्मेवारी बढेको बताउँदै देश र जनताको हितमा अझ क्रियाशील भएर आगामी दिनमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।