कनकाई अनलाईन
विराटनगर नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलको बैठकले प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । माओवादी केन्द्र छाडेका आङ्बुहाङलाई निलम्बनका लागि २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
सर्वोच्च अदालतको फैसलापछि सोमबार माओवादी केन्द्रको संसदीय दलको दुईवटा बैठक बसेको थियो । पहिलो बैठकले दलको विधान पारित गर्दै संसदीय दलको नेतामा आङ्बोलाई चयन गरेको थियो ।
लगत्तै बसेको दोस्रो बैठकले आङ्बुहाङलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । माओवादी केन्द्रले तयार गरेको स्पष्टीकरण पत्रमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी भएको र वर्तमान सरकारमा सहभागी भएको विषयलाई जोड्दै तपाईंलाई किन कारबाही नगर्ने भनी प्रश्न सोधिएको छ ।
‘जवाफ नआए पनि कारबाही गरेर संसदलाई जानकारी गराउछौँ,’ आङ्बोले भने, ‘छुट्टै पार्टीमा प्रवेश गरेका कारण कानुनी प्रक्रिया पुर्याउनका लागि स्पष्टीकरण सोधिएको हो ।’
तत्कालीन नेकपा संसदीय दलका उपनेता रहेका ताप्लेजुङ ‘ख’ बाट निर्वाचित टङ्क आङ्बुहाङ नेकपा एमाले प्रवेश गरेका थिए । एमाले प्रवेशलगत्तै उनी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् । प्रदेश १ मा नेकपा माओवादी केन्द्रको १६ जना सदस्य छन् ।