कनकाई अनलाईन
२८ फागुन, बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साविकको नेकपामा ओलीतिर लागेका नेताहरुलाई फकाउन नलाग्ने बताएका छन् ।
साविकको नेकपा दुई खेमामा विभाजित हुँदा माओवादी पृष्ठभूमिका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापालगायतका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका थिए । सर्वोच्च अदालतले पार्टी एकता नै खारेज गरेपछि उनीहरु माओवादी केन्द्रमा फर्किएका छैनन् ।
शुक्रबार बुटवलमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले उनीहरुलाई फकाउन नलाग्ने बताएका छन् । विगतमा बिग्रिएका, भत्किएकाहरुलाई फकाउँदा हुन्छ कि भन्नु आफ्नो गल्ती भएको भन्दै उनले भने, ‘यत्रो बदमासी गरेकालाई ल्याएर गृहमन्त्री बनाएर त ‘ ९हलमा हाँसो० । बाबुरामजीसँग वैचारिक संघर्ष भयो । जे होस टोपबहादुरजीले साथ दिनुभयो भनेर सब गरेँ भन्दा त यो गति ।’
‘अरु त अरु, दुई जना मान्छे नभएकालाई स्थायी समिति बनएको त अहिले मन्त्री’ प्रचण्डले अघि भने, ‘के गरेँ भनेर अहिले आफ्नै आत्मसमीक्षा गर्न थालेको छु । त्यस्तालाई भन्दा दृढतापूर्वक लड्ने र प्रचण्ड बनाउन भूमिका खेल्ने आफ्नै साथीहरुलाई भरोसा गरेको भए यो दिन देख्न पर्दैनथ्यो नि भन्ने महसुस भएको छ ।’
साथै उनीहरुलाई फकाउन मन लाग्न छाडेको उनले सुनाए । कतिपयले तपाईंले फकाउने हो भने फकिन्छन् नि भनेर सुनाउने गरेको भन्दै प्रचण्डले भने, ‘भो ती फर्किन परेको छैन, उतै बसे हुन्छ । यहाँ आएर रोए भने म पग्लिन्छु भन्ने डर छ ।’