Kanakai Online

बलात्कारमुक्त समाज निर्माणका लागि दुई झापालीको मेची –महाकाली साइकल यात्रा


शुक्रवार, फागुन २१, २०७७ |

बिर्तामोड , फागुन २१ । पछिल्लो समय नेपालमा वढ्दै गइरहेको बलात्कारका घटनाको अन्त्य गरी बलात्कारमुक्त समाजको निर्माणका लागि झापा बाह्रदशीका दुई युवाले मेची –महाकाली साइकल यात्रा शुरु गरेका छन् ।झापा बाह्रदशी गाउँपालिका—५ का ३४ वर्षीय अभिशेक धमला झापाली कान्छा र बाह्रदशी गाउँपालिका—२ का २४ वर्षीय आकाश क्षेत्री मिस्टर भिल्लाले मेचीपुलबाट साइकल यात्रा शुरु गरेका हुन् ।

साइकल यात्री अभिशेक धमला झापाली कान्छा क्षितिज नाट्य समूह झापाका केन्द्रीय सदस्य , लेखक , निर्देशक , कलाकार र पाथीभरा थिएटर एण्ड सिने प्रालिका सञ्चालक हुन् भने आकाश क्षेत्री कलाकार , गायक तथा संगीतकार हुन् ।बलात्कारमुक्त समाजको परिकल्पना, शान्ति सुशासन र समृद्घ नेपाल हाम्रो चाहना’ भन्ने मुख्य नारासहित पूर्वी नेपालको मेची पुलबाट शुरु गरिएको साइकल यात्रा १८ दिनपछि पश्चिम नेपालको महाकाली पुगेर समापन गरिने साइकल यात्री अभिशेक धमला झापाली कान्छाले बताए ।दैनिक ५० देखि ७५ किलोमिटर सम्मका दरले साइकल कुदाएर १८ दिनमा महाकाली पुगेर यात्रा समापन गर्ने बताउँदै उनले त्यही अवधिमा बलात्कारमुक्त समाजको निर्माणका लागि जनचेतनामुलक कार्यक्रम गरिने जानकारी दिए ।पछिल्लो समय बलात्कारका घटना वढ्दै गइरहेको र बलात्कार पछि हत्या गर्ने श्रङ्खला समेत बढेकाले त्यस्ता व्यक्तिलाई हदैसम्मको सजाय दिन माग गर्दै बलात्कारमुक्त समाजको निर्माणका लागि हस्ताक्षर संकलन गरी सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई बुझाउने उनले बताए ।

वीरता जेसीजका अध्यक्ष राजीव धिमालले आफूलाई साइकलको व्यवस्था गरेको बताउँदै धमलाले वीरता जेसीजको संयोजनमा यात्रा अवधिभर खाने वस्नेको व्यवस्था समेत गरेको जानकारी दिए । वीरता जेसीजले संस्थाको लोगो अंकित टी सर्ट प्रदान गरेर उनीहरुको विदाइ गरेको थियो ।
 यात्रा अवधिभर करीव डेढलाख रुपैयाँ खर्च लाग्ने र सवै रकम विभिन्न संघ संस्था र व्यक्तिहरुले सहयोग गरेको उनले बताए ।साइकलयात्री धमला र क्षेत्रीलाई मेची पुलबाट नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याल, सशस्त्र प्रहरी वल नेपाल वोडर आउट पोस्ट काँकरभिट्टाका विओपी पति सशस्त्र प्रहरी निरीक्षक प्रेम राई, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक जीवन मैनाली प्रेस क्लब मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेतीलगायतले यात्रा सफलताको कामना गर्दै विदाइ गरेका थिए ।यसअघि क्षितिज नाट्य समूह झापा र बाह्रदशी साहित्य तथा कला प्रतिष्ठानले उनीहरुलाई यात्रा सफलताको कामना गर्दै विदाइ गरेका थिए ।