कनकाई अनलाइन समाचारदाता
बिर्तामोड, फागुन ६ गते । २०२८ सालको झापा बिद्रोहका योद्धा टंकप्रसाद चौधरीलाई बिर्तामोड नगरपालिकाले आवाश निर्माण गरिदिएको छ । कमजोर आर्थिक अवस्था तथा घरवारविहिन बनेका चौधरीलाई नगरपालिकाले आफ्नै खर्चमा घर निर्माण गरिदिएको हो ।
तत्कालिन समयमा बर्तमान प्रधानमन्त्री केपीशर्मा ओली लगायातको झापाली युवाको नेतृत्वमा भएको झापा विद्रोहका क्रममा तत्कालिन शासकले चौधरी लगायात बर्तमान प्रधानमन्त्री लगायातलाई थुनामा राखेको थियो । चौधरीलाई समेत तत्कालिन पंचायती शासकले धरपकड गरी ९ वर्ष ३ महिना जेल हालेको थियो । साविक गरामनी–८ का चौधरी हालसम्म घरबार विहीन थिए । उनलाई घर निर्माणका लागि विर्तामोड नगरपालिकाले पहल गरेपछि बिर्तामोड–४ का विदुर तिवारीले निशुल्क जग्गा उपलब्ध गराउनुभएको थियो भने सोही जग्गामा बिर्तामोड नगरपालिकाले घर निर्माण गरेर प्रवेश समेत गराएको विर्तामोड नगरपालिकाका प्रशासन प्रमुख देवराज कार्कीले बताउँनुभयो । झापा विद्रोहका योद्धा चौधरीका लागि सुरक्षित आवास निर्माण गरि नगर प्रमुख धु्रव कुमार शिवाकोटीले र उपप्रमुख पवित्रा महतराले चौधरीलाई मंगलवार गृह प्रवेश गराउनुभयो ।
वर्षौदेखि भाडामा बस्दै आउनुभएका चौधरीको परिवारलाई घरसहित ओढ्ने ओच्छ्याउने कपडा, ग्यास चुलो, २ वटा खाट उपलब्ध गराइएको छ । साढे पाँच लाख लागतमा घर निर्माण सम्पन्न गरिएको योजना शाखा प्रमुख जय तिम्सिनाले जानकारी दिनुभयो ।
तस्बीर ः झापा बिद्रोहका योद्धा चौधरीलाई गृह प्रवेश गराउदै बिर्तामोड नगरप्रमुख शिवाकोटी उपप्रमुख महतरा लगायात