Kanakai Online

झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थलको अनुगमन


मङ्गलवार, माघ ६, २०७७ |

कनकाई अनलाईन
सरकारले प्रतिनिधिसभा विघटन गरी विसं २०७७ वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्लामा निर्वाचन लक्षित सम्भावित मतदान स्थल र केन्द्रहरुको अनुगमन शुरु भएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको संयोजकत्वमा गठित जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले आइतबारदेखि अनुगमन शुरु गरेको हो । समितिले विर्तामोड, अर्जुनधारा, दमक, शिवसताक्षी नगरपालिका र कमल र बाह्रदशी गाउँपालिकाका मतदान स्थल र केन्द्रको अनुगमन गरिसकेको समितिका संयोजक प्रजिअ तिम्सिनाले जानकारी दिनुभयो । अनुगमन समितिमा राजनीतिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुख र निर्वाचन अधिकारी, पालिकाका प्रमुखहरु रहनुभएको तिम्सिनाले बताउँनुभयो ।

तिम्सिनाले विगतको झापाको निर्वाचनमा २८३ मतदान स्थल र ६९२ मतदान केन्द्र रहेकामा यसपालि केही थप हुनसक्ने बताउँनुभयो । विगतमा एउटै मतदान स्थलमा आठ वटासम्म मतदान केन्द्र हुने गरे पनि यसपटक सातवटा भन्दा बढी राख्न नमिल्ने तिम्सिनाको भनाइ थियो ।

उनले सबै पालिकाका मतदाताहरुलाई सहज हुने गरी मतदान स्थल र मतदान केन्द्र थपका लागि केन्द्रमा सिफारिस गरिने र यसका लागि मतदात स्थल र केन्द्र थपका लागि राजनीतिक दल र स्थानीय तहसँग छलफल समेत भइरहेको समेत तिम्सिनाको भनाइ छ ।

सम्बन्धित खबर