डिपिआर भइसकेर पनि निर्माण अलपत्र।
कुमरखोद,पौष २७।झापाको झापा गाउँपालिका २ मा रहेको कुमरखोद स्वास्थ्य चौकीको भवन जिर्ण अवस्थामा पुगेको छ। यसैबाट स्वास्थ्य सेवा सञ्चालनमा आइरहेको छ।
स्वास्थ्य चौकीको भवन जुनकुनै बेला भत्किने अबस्थामा पुगेको छ। छतबाट सिमेन्टका ढिक्का पनि खस्ने गरेको यहाँका स्वास्थ्यकर्मी बताउछन। यहीँबाट जसोतसो स्वास्थ्य सेवा प्रवाह भइरहेको स्वास्थ्यकर्मीले बताए । २०३० साल असारमा स्थापना भएको ६ कोठे भवन पानी पर्दा चुहिने गरेकोे स्वास्थ्यकर्मीले जानकारी दिए।भवनको झ्याल, ढोका पनि जिर्ण अवस्थामा पुगेका छन।
सामान्य भुकम्प आएपनि पनि भवन भत्किने अबस्थामा रहेकाले स्वास्थ्यचौकी भित्र रहँदा डर लाग्ने स्वास्थ्यकर्मीहरु बताउछन् ।स्वास्थ्य चौकीको अवस्थाका कारण सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन समस्या रहेको एक अहेवले बताए।पानी पर्दा पनि चुहिन्छ,सिमेन्टका ढिक्का खस्छन,ज्यान जोखिममै राखेर भए पनि सेवा प्रवाह गरेको उनले बताए।यस स्वास्थ्य चौकीमा ७ जना कर्मचारी कार्यरत छन।दैनीक २५ जना बिरामीले सेवा लिन आउने गरेका छन।स्वास्थ्य चौकीको भवन जिर्ण हुँदा आफूहरुलाई सेवा लिनमा धेरै समस्या हुने गरेको स्थानीय खगेन्द्र श्रेष्ठले बताए।बर्खाको बेला त झन स्वास्थ्य चौकी आउनै डरलाग्ने श्रेष्ठले बताए।
कुमरखोद स्वास्थ्य चौकीको भवन जिर्ण अबस्थामा रहेकोले यसका बारेमा गाउँपालिकामा समेत पहल गरेको झापा गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले बताए।”सेवा प्रवाह गर्नै डरमर्दो भयो,बरु यसलाई स्तान्तरण गरेर अन्त कहि राखौं भनेर मैले गाउँपालिकामा समेत प्रस्ताब राखेको छु”बिश्वकर्माले भने।”यो जिर्ण अबस्था देखेर नै स्थानीय निकायको चुनाव अगावै नयाँ स्वास्थ्य चौकी बनाउन डिपिआर भइसकेको थियो,तर दुई महिना पछी चुनाव आयो,चुनावी माहोल संगै यो बिषय पनि सेलाएर गयो,अब अहिले आधारभुत स्वास्थ्य चौकि बन्न थाले यो अझेलमै पर्यो”उनले थपे।गएको साल स्वास्थ्य चौकी निर्माणका लागि आफुँ डेलिकेसन लिएर संवन्धित निकायमा पत्रचार समेत गरीसकेको बिश्वकर्माले बताए।
यसै बिषयमा झापा गाउँपालिका-२ का वडाध्यक्ष नेत्रबहादुर खड्काले स्वाथ्यचौकी भवन जिर्ण अवस्थामा भएको भन्दै आफ्नो वडाका तर्फबाट मर्मतका लागि डेढ लाख रुपैयाँ बजेट सम्म छुट्याएको बताए।”हामीले बजेट छुट्याएर समिती पनि बनाइसकेको छ,तर यति बजेटले मात्र नपुग्ने रहेछ,मैले पटक-पटक गाउँपालिकाको स्वास्थ्य साखा र गाउँपालिकामा पहल गरे “उनले भने।खड्काले आफुले पटक पटक स्वास्थ्य चौकी जिर्ण अबस्थामा रहेको जानकारी गाउँपालिकामा गराएको बताए।
यता यसै विषयमा झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले यो स्वास्थ्यचौकी भवन अत्यन्त जिर्ण अबस्थामा रहेकोले प्रदेश र केन्द्रका दुबै स्वास्थ्य मन्त्रालयलाई पत्रचार गरिसकेको जानकारी दिएका छन।”हामीले पटक,पटक पत्रचार गरेका छौ,सांसदलाई पनि देखाएउ,तर खोइ अहिले सम्म सुनवाई भएको छैन,बारम्बार हामी प्रयास गरिरहेका छौ” उनले भने।”यो स्वास्थ्य चौकी भवन बनाउनै पर्ने भएको छ,केन्द्र र प्रदेश सरकारलाई हामीले झक्झकाई रहेको छ,बनाउन पनि ठूलो बजेट लाग्छ,स्थानिय सरकारले मात्र सम्भव छैन,प्रयास गरिरहेका छौ,यसपाली पनि भएन भने मर्मत गरेर चलाउछौ शाहले भने।