Kanakai Online

प्रदेश एकको महिला क्रिकेटमा झापाका १२ खेलाडी छनौट


बुधवार, पौष ८, २०७७ |

कनकाई अनलाईन
आगामी पौष ११ गतेबाट हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि इलामका ३ सहित प्रदेश नं। १ ले पहिलो चरणमा १९ जना खेलाडी छनोट गरेको छ । दाङको लमहीमा हुने प्रतियोगिताको लागि झापा, मोरङ र इलाममा रहेका महिला क्रिकेट टिमबीच प्रतिस्पर्धा गराएर पहिलो चरणमा १९ जना खेलाडी छनोट गरिएको हो ।

इलामकी संगम तामाङ, जमुना कार्की र पायल मगरले १९ भित्र स्थान बनाउन सफल भए । झापाको काँकरभिट्टास्थित तुर्केनी खेलमैदानमा प्रतिस्पर्धा गराइएको थियो । जसमा प्रत्येक टिमले २–२ वटा खेल खेलेका थिए । सोही क्रममा १९ जना छनोटमा परेको प्रादेशिक क्रिकेट संघ प्रदेश १ का सचिव तथा प्रशिक्षक मनोज कटुवालले जानकारी दिए ।

छनोटमा परेका १९ जनामध्ये सबैभन्दा बढी झापाका १२ जना र मोरङका ४ जना रहेका छन् । झापाबाट छनोट हुनेमा राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुविना क्षत्री, काजोल श्रेष्ठ, अप्सरी बेगम, रोमा थापा, संगीता बेगम, सबनम राई, ज्योति दनुवार, ङिमा शेर्पा, निशा साह, लकिता राजवंशी, एलिसा खडिया र स्मृति कटुवाल छन् । मोरङबाट टिका साह, सलिना तामाङ, अंशु जैसवाल र भिमा कुँवर रहेकी छन् । उनीहरु अहिले क्लोज क्याम्पमा प्रशिक्षण गरिरहेका छन् ।

प्रादेशिक क्रिकेट संघका सचिव कटुवालका अनुसार दुई दिनभित्रमा प्रदेश टिमका लागि १४ जना खेलाडीको अन्तिम सूची निकालिने भएको छ । अन्तिम सूचीमा परेका खेलाडीलाई पुस १२ गतेसम्म थप प्रशिक्षण दिइने प्रशिक्षकसमेत रहेका कटुवालले जानकारी दिए । बन्द प्रशिक्षण काँकरभिट्टा खेल मैदानमा भइरहेको छ ।

प्रदेश एकले पौष १४ गते बागमती प्रदेशसंग पहिलो खेल खेल्नेछ । १५ गते सदुर पश्चिम र १६ गते गण्डकीसंग प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’ मा शसस्त्र प्रहरीको एपीएफ, प्रदेश २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् । त्यस्तै समूह ‘बी’ मा सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ छन् । ११ गतेदेखि १७ गतेसम्म दैनिक दुई खेल हुनेछन् ।

पहिलो खेल बिहान ९ बजे शुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ बजे शुरु हुनेछ । १७ गते समूह ए को विजेता र समूह बी को उपविजेताबीच पहिलो र समूह बी को उपविजेता र समूह ए को विजेताबीच सेमिफाइनल खेल हुनेछ । १९ गते फाइनल खेल हुने क्यानले जनाएको छ ।

सम्बन्धित खबर