Kanakai Online

हडिया जल उपभोक्ता समितिको साधारणसभा


शनिवार, पौष ४, २०७७ |

भद्रपुर, पुष ४ । भद्रपुर ९ स्थित हडिया कृषक कुलो जल उपभोक्ता समितिको ९ औं साधारणसभा सम्पन्न भएको छ ।

समितिका अध्यक्ष होमनारायण प्रधानको अध्यक्षता तथा संघीय सांसद सुरेन्द्रकुमार कार्कीको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्कीले जनताका प्रतिनिधि भनिएको कम्युनिस्ट सरकारले सिद्धान्त अनुसार काम गर्न नसक्दा सामन्तवादी शैली जीवित रहेको बताए । नेकपाका स्थायी समितिसदस्य समेत रहेका कार्कीले समाजवाद उन्मूख राज्य सञ्चालनमा नेकपा नेतृत्व सरकार चुकेको भन्दै राजनीतिले सही बाटो लिन नसकुञ्जेल श्रमजीवि कृषकका पीडा सुनुवाइ नहुने तर्क राखेका थिए ।

स्वागत उपाध्यक्ष दिननाथ उप्रेती तथा सञ्चालन सचिव मानबहादुर मगरले गरेको कार्यक्रममा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, भद्रपुर ९ का कार्यवाहक अध्यक्ष रामप्रसाद दाहाल, नेकपा भद्रपुर अध्यक्ष शिवकुमार राजभण्डारी, जिल्ला सदस्य असारु राजवंशी, समाजसेवी विष्णुप्रसाद शिवाकोटी, चन्द्रगढी दोश्रो खानेपानी समितिका अध्यक्ष चुडामणि मैनालीलगायतले साविकको चन्द्रगढी ३, ४, ५ र ९ नम्वर वडाको सिँचाइ सुविधाका लागि सो कुलो अपरिहार्य रहेकाले संरक्षणमा जोड दिएका थिए ।
संस्थाका अध्यक्ष प्रधानले ४७ लाख १० हजार १ सय ४३ रुपैयाँको आयव्यय सार्वजनिक गर्दै आगामी वर्षका लागि ५१ लाख ५० हजार रुपैयाँको प्रस्तावित बजेट पेस गरेका थिए ।

सम्बन्धित खबर