झापा, २० मङ्सिर-लाल–भागिरथा प्रतिष्ठानले साहित्य, कृषि र गृहस्थी क्षेत्रमा विशिष्ट योगदान पु¥याएवापत तीन जना प्रतिभालाई आज पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा साहित्यकार कनकाईका मित्रप्रसाद दाहाल, अग्र्यानिक अभियानमा लाग्नुभएका मेचीनगरका कृषक डिल्ली खतिवडा र कुशल गृहिणी अर्जुनधाराकी यशोदा बराल हुनुहुन्छ ।
प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले तीनै जना प्रतिभालाई प्रतिष्ठानको तर्फबाट जनही रु ३१ हजार नगदसहित सम्मानपत्रद्वारा पुरस्कृत गर्नुभयो । साहित्यकार दाहालले चारवटा महाकाव्यसहित दर्जन बढी बहुविधाका कृति प्रकाशित गरिसक्नुभएको छ भने पुरस्कृत गृहिणी बरालले विसं २०३० मा पञ्चायती सरकारद्वारा हात्ती लगाएर घर भत्काउन लगाएपछि आफ्नै बलबुता र मेहेनतबाट छोराछोरीलाई उच्च शिक्षा, सामाजिक सेवा र निमुखाका लागि न्याय दिलाउन साहसिक योगदान गर्नुभएको छ ।
पुरस्कृत कृषक खतिवडाले हाल सात कठ्ठा जग्गामा फोहरबाट मल बनाउने डिकम्पोजर प्रविधिबाट अग्र्यानिक मल र अग्र्यानिक औषधि उत्पादनसहित तरकारी खेती गरिरहनुभएको छ ।