✍️उदय मैनाली
मानिस जति सामाजिक प्राणी हो, त्यती नै राजनीतिक प्राणी पनि हो भन्ने महान दार्शनिक अरस्तुको भनाई नेपाली समाजको परिप्रेक्ष्यमा अलि बढि नै प्रयोग भएको पाइन्छ । माथिको भनाईको तात्पर्य एउटा सचेत व्यक्ति आफ्नो वरपर,समाज र देशमा के भइरहेको छ ? त्यो बारेमा अनभिज्ञ रहन सक्दैन भन्ने नै हो । तर हामी भने समान र राष्ट्रभन्दा माथि राजनीतिलाई स्थान दिइरहेका छौँ । हरेक व्यक्ति शारीरिक र मानसिक रुपमा विकसित हुँदै जाँदा विभिन्न आस्थाका राजनीतिका दलसँग आबद्ध हुँदै जानु स्वभाविक हो । तर त्यस राजनीतिक आस्थाको अन्धभक्त भएर अन्य महत्वपूर्ण जिम्मेवारी र बहसलाई तुच्छ देख्न थाल्नु अवश्य पनि समस्याको विषय हो । पङ्तिकारले यहि समस्याको विषयलाई उजागर गर्ने प्रयत्न यस आलेख मार्फत गर्दैछन् ।
आफुले विश्वास गरेको राजनीतिक आस्थालाई समाज, परिवार, आफन्त र हुँदा हुँदा इश्वरभन्दा ठुलो बनाउन खोज्नु आजको समस्याको मुख्य कारण हो । जसले गर्दा उसको जीवनमा राजनीतिक कक्षाको भ्रम यतिसम्म हुन्छ की, आफु जन्मेको, हुर्केको संस्कार, संष्कृति र सिंगो माटोप्रति गैरजिम्मेवार भएर निस्कने प्रवृत्ति हावी हुँदै गइरहेको छ । जुन त्यस्ता व्यक्तिमाथि मृत्युपरन्तसम्म प्रभाव जमाउन सक्षम हुन्छन् ।
हामीले बुझ्नु पर्ने कुरा के हो भने हामी पहिले नेपालीपनमा हुर्केका सामाजिक, सांष्कृतिका प्राणी हौँ, त्यसपति मात्र राजनीतिक प्राणी हौँ । हो राजनीति हाम्रो भाग्य र भविष्यसँग जोडिएको विषय हो र यसले हाम्र्रो दैनिक जीवनमा प्रत्यक्ष, अप्रत्यक्ष प्रभाव छोडेको हुन्छ तर यसको मतलब यो हैन की सम्पूर्ण राष्ट्रियता, सम्प्रभुता, स्वाभीमान र मानवीय संवेदना नै बन्धकी राख्नु ।
अमुक राजनीतिक आस्थाको झण्डा उठाइरहँदा राष्ट्रिय झण्डा प्रतिको सम्मान र सामाजिक सद्भाव सहितको एकता नटुटोस् । हाम्रो अविछिन्न राष्ट्रिय गौरव नडगमगाओस् । हाम्रो समाजको स्थिति यतिसम्म भयानक हुँदै गएको छ की फरक राजनीतिक आस्थाका मानिससँग पानी बाराबार छ, परिवार भित्र दाजुभाई, दिदिबहिनीको बोलचाल बन्द छ । यसले अन्तत्वगत्वा हामीलाई नराम्रो पार्छ । देशप्रेम र मानवताको विरुद्ध लैजान्छ र राष्ट्रिय विखण्डन, सामाजिक, सांष्कृतिक विचलन तर्फ उन्मुख गराउँदछ ।
हामीमा यतिसम्म स्वार्थीपन, कठोर मनको विकास हुँदै गएको छ की यदी यस्तै राजनीतिक संस्कारको निरन्तरता रहिरहने हो भने हाम्रो सामाजिक, सांष्कृतिक विरासत र राष्ट्रिय भावनाको ऐना झ¥याम झुरुम टुटेका हुनेछ ।
अमुक राजनीतिक आस्था आडमा हामीले समग्र मानवता र सामाजिक भावनाको विनाश रोजिरहेका त छैनौँ ? गहिरो प्रश्न चिन्ह खडा भएको छ । देखावटी रुपमा ठुला र राम्रा कुरा तर भित्र भित्रै हरेक कुरामा खोक्रिँदै गइरहेका त छैनौँ ? गलत र पूर्वाग्रही राजनीतिक संस्कारले अर्काको रिस, इष्र्या, डाहा र तडकभडकमा प्रतिस्पर्धा गर्न भने अब हामीले छोड्नै पर्छ । फरक राजनीतिक विचार र आस्थाको सकारात्मक पाटो पनि विश्लेषण गर्न सक्षम राजनीतिक संस्कारको विकास गरिनुपर्दछ । हनुमान भएर जसरी हुन्छ विरोध र द्धन्द्धको राजनीति हामीले अन्त्य गर्न सक्नुपर्दछ । अर्काको कुरा काट्न व्यस्त हुने, कामकाज भन्दा खुरापाति मै समय व्यतित गर्नेको संख्या बढिरहेको अवस्थामा मुखमा राम राम बगलीमा छुरा उखानको प्रत्योत्तर दिनु नै पर्नेछ । अन्यथा हामी सकिने र सकाउने मार्ग तर्फ अग्रसर हुनेछौँ ।
अझ राष्ट्रियता, नेपालीपन, राष्ट्रिय एकता र स्वाभिमान, चन्द्र सूर्य अंकीत ध्वजा र विर गोर्खालीको इतिहासलाई माटोमा मिलाउने काम गरिरहेका छौँ । एउटा सामाजिक व्यक्तिको अन्तिम संस्कारमा घाटमा भेला भएका मलामीहरुमा मृतक प्रतिको सम्मान र पूर्वीय दर्शनको हिन्दु धर्मले सिकाएका अन्तिम संस्कारका कर्मभन्दा अमुक–अमुक राजनीतिक दलका झण्डा ओढाउने विषयले प्रतिस्पर्धात्मक प्राथमिकिता पाउनु बिडम्बना रहेको छ । मृतकले समाज र राष्ट्रका लागि गरेको योगदानभन्दा पार्टी र सिमित समूहका लागि गरेको कार्यको प्रशंसाले पक्कै पनि मृतकको आत्माले शान्ती पाउँदैन । तसर्थ अरुले जस्तोसुकै विचार, समूह र पार्टीको झण्डा ओढ्ने, ओढाउने कार्य गरेपनि मेरो मृत शरिरमा केबल नेपाल आमाको चन्द्र सूर्य अंकीत तीनकुने राष्ट्रिय झण्डा ओढाइयोस् ।
मेरो सबै राजनीतिक विचार र आस्था प्रति सम्मान छ तर यस्ता विचार र आस्थाको नाममा हामीले विरासतमा पाएको पूर्वीय दर्शन, संस्कार, संष्कृति, देश र माटो प्रतिको मान, सम्मान, अनुशासन, मर्यादा, परिवार र आफन्तजनको महत्व,हार्दिकताको बली दिन तयार छैन । नयाँ नेपाल बनाउने भाषण बाजीको आडमा मलाई मेरो जन्म, जननी र इतिहासलाई तिरष्कृत गर्ने कुनै अधिकार छैन ।
यदी हामी सबैले माथिको कुरा मनन गरेनौँ र सच्चिएर कुशल,संस्कारयुक्त र मानवीय सेवामा समर्पित राजनीति गरेनौँ भने हामी आँफै पनि यी कुराहरु सँगै सकिने र सकाउने बाटोमा छौँ । चेतना भया ।