भद्रपुर, ५ मंसीर । प्रदेश १ को सर्वाधिक ठूलो घाट मानिएको भद्रपुर स्थित मेची किनारमा पहिलो पटक छठ पूजाको मण्डपविहिन नदी किनार बनेको छ । कोभिड १९ संक्रमणको जोखिमलाई ख्याल गर्दै भद्रपुर नगर सरकारले नदीनाला किनारमा सार्वजनिक छठ पूजा मण्डप निर्माण नगर्ने घोषणा गरेसंगै पाँच दशकयता पहिलो पटक मेची नदी किनारमा छठ मण्डपविहिन भएको हो ।
हरेक वर्ष भद्रपुर नगरपालिका संरक्षक रहने र मैथिली समाज आयोजक बनेर करिव ३ किलोमिटर क्षेत्रमा हजारौं पूजा मण्डप निर्माण हुने मेची नदी छठ पूजाका लागि प्रदेश २ को जनकपुरपछिको दोश्रो ठूलो पूजा स्थलको पहिचान बन्ने गरेको थियो । तराइबासीको महत्वपूर्ण पर्व मानिए पनि भद्रपुरको मेची किनारमा हिमाली, पहाडी मारवाडी, बंगाली लगायत सम्पूर्ण जात जातिको साझा प्रतिनिधित्व हुने गरी समावेशी रूपमा छठ पूजामा सहभागिता रहने गरेको छ । नेपाल–भारतको सिमावर्ती क्षेत्रमा पर्ने मेची नदीमा मनाउदै आएको छठ पूजामा भण्डै ५ हजार पूजा स्थल निर्माण गरी ३ किलो मिटर क्षेत्रमा नदीको वारिपारी दुवै पट्टिबाट हिमाल, पहाड र तराइका बासिन्दाले सहभागी भएर मनाउने गरेको सम्झँदै मैथिली समाज भद्रपुरका पूर्व सचिव विकासकुमार गुप्ता कोरोनाले सामूहिक पूजा गर्न नसकिएको बताउँछन् ।
छठ पर्व मनाउने अधिकाम्सले घरमै पूजा गरी नुहाउनका लागि मात्र नदीलाई रोजेका छन् भने नेपाल भारत दुवै देशका भक्तजनको भीड लाग्ने भद्रपुर स्थित मेची नदी सुनसान बनेको छ ।