Kanakai Online

घरगाउँमा गुणस्तरीय सेनिटाइजर बनाउन सिकाउदै युवा


बिहिवार, असोज २२, २०७७ |

कनकाई अनलाईन
नजिकिदो चाडपर्वसगै कोरोना महामारी फैलन सक्ने र सुरक्षाका लागि ठुलो परिमाणको सेनिटाइजरको जरुरत पर्ने भन्दै यहाँस्थित युवाहरुले घरगाउँमै गुणस्तरीय सेनिटाइजर बनाउँनका लागि तालिम दिदै आएका छन ।


झापा युवा सरोकार समाजको आयोजनामा कनकाई नगरपालिकाका ९ वटै वार्डहरुमा दैनिकजसो गुणस्तरीय सेनिटाइजर बनाउने तालिम स्थानीयलाई प्रदान गरिदै आएको छ ।
संस्थाका अध्यक्ष प्रसान्त गिरीका अनुसार कनकाईका सबै वार्डहरुमा कम्तीमा पनि वार्डका ६० जनालाई गुणस्तरीय सेनिटाइजर बनाउँने यो तालिम प्रदान गरिन्छ । यसबाट कम्तीमा कनकाईवाशीले बजारमा बिक्रीमा राखिएको कमशल सेनिटाइजरको प्रयोग गर्नुपर्ने छैन भने प्रचलित बजारमुल्यभन्दा कैयौ गुणा सस्तो दरमा घरघरमै जतिपनि सेनिटाइजरको उत्पादन गर्न सकिने छ । सेनिटाइजर बनाउँनका लागि प्राविधिक जेनिस घले सहितको टोली हाल कनकाई नगरपालिकाको प्रत्येक टोल टोलमा हाल सक्रिय छ ।

बुधबार कनकाई नगरपालिका ७ स्थित फक्तालुङ्ग एजुकेशन फाउण्डेशनको सभाहलमा भएको कनकाई ७ का युवा लक्षित सेनेटाइजर बनाउने कार्यक्रमको उद्घाटनमा प्रमुख अतिथिका रुपमा बोल्दै युवा सामाजिक अभियान्ता दिपक दासले अझैपनि कोरोना महामारीबाट बच्न सचेतना सगै सुरक्षा अनिवार्य भएकोले सेनेटाइजरको निर्माण घरघरमै गरेर नगरवाशी खर्चको बचावट र कोरोना सुरक्षा दुबैमा सक्रिय देखिएको बताउँनुभयो । प्राय समाजका सबै क्षेत्रबाट कोरोना महामारीको सचेतनामा ध्यान पुर्याउनुपर्ने भन्दै युवा समाजको सक्रियताबाट देशमै नौलो शन्देश प्रवाह भएको बताउँनुभयो ।


यसैगरि कार्यक्रममा बोल्दै फक्तालुङ्ग एजुकेशनका संस्थापक दुर्गा नेम्बाङ्गले युवाको सक्रियतामा देशले गर्ब गर्नुपर्ने बताउँदै , अभियानको साथमा सबै रहेको बताउँनुभयो । फक्तालुङ्ग एजुकेशनका पिन्सिपल ओमबिक्रम नेम्बाङ्गले सबै स्थानमा साबुनपानी सम्भव नभएकोले सेनेटाइजरनै उत्तम बिकल्प भएपनि यो सर्बसुलभ नभएकोले समस्या परिरहेको भन्दै युवाको तालिमपछि सबैलाई फाइदा मिलेको बताउँनुभयो । कार्यक्रममा पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य लीलाराज झापालीले झापाली युवाको सिको देशका युवाले गर्नसकेमात्रै कोरोना कहरबाट देशलाई मुक्ति दिलाउन सकिने ठोकुवा गर्नुभयो ।


कनकाई नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिकाभर संचालन भइरहेको यस सेनिटाइजर बनाउने अभियानको दुर्गापुरमा ३० जना युवा समुहको सहभागिता रहेको थियो ।
यसैगरि वार्ड नम्बर १ को प्रत्येक टोल समुहबाट कम्तीमा ३ जनाको सहभागि रहनेगरि उक्त तालिम सम्पन्न भएको छ । दुई अलग अलग भएको कार्यक्रममा क्रमश वार्ड नम्बर १ का वार्डअध्यक्ष रोषनराज पोखरेल र कनकाई कार्यपालिका सदस्य समेत रहनुभएकी सीता अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो । वार्डनम्बर एकको लागि कनकाई नगरपालिकामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

सम्बन्धित खबर