कनकाई अनलाईन
सर्लाही, असोज १८ गते । झिम खोलाको कटानले सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवननगरमा नेपाल–भारत सीमा छुट्याउने एउटा सहायक सीमा स्तम्भ जोखिममा परेको छ ।
केही दिनअघि खोलामा आएको बाढीले सुरु गरेको कटान सीमा स्तम्भ छेउमै आइपुगेको स्थानीय वासिन्दा समेत रहनु भएका जिल्ला समन्वय समिति सर्लाहीका सदस्य रामदुलार रायले जानकारी दिनुभयो । ‘अब एक पटक ठूलो बाढी आयो भने पिल्लर बगाउने निश्चित छ, त्यसैले तत्कालै स्थायी किसिमको छेकबार बनाउन आवश्यक छ,’ रायले भन्नुभयो ।
सीमा स्तम्भ बग्न नदिन तत्काल सशस्त्र प्रहरीले भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरी अस्थायी किसिमको छेकबार निर्माण गरेको छ । खोलाले कटान गरेर बगाउनै लागेको ३२३(१९ नं। को सहायक सीमा स्तम्भमा बाँसको किल्ला र जालीको सहायतमा बालुवा भरिएको बोराहरु राखिएको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले जानकारी दिनुभयो ।
सीमा स्तम्भ बगाउन नदिन बाढी आएर कटान गरिरहेकै अवस्थामा तत्कालै एसएसबीसँग समन्वय गरी छेकबारको काम गरिएको श्रेष्ठले बताउनुभयो । ‘कम्मर–कम्मर बाढी आइरहेकै बेला हामीले अस्थायी छेकबार बनायौँ, सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले भन्नुभयो, तत्कालका लागि बग्नबाट रोकेका छौँ ।’
स्थानीय वासिन्दा र जनप्रतिनिधिले पनि अस्थायी छेकबार निर्माणमा साथ दिएका छन् । ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष विनोद कुमार साहले पुनः ठूलो बाढी आए पिल्लर बगाउने अवस्था रहेकाले तत्कालै तटबन्ध निर्माणको काम गर्न जनताको तटबन्ध कार्यालय हरिपुरमा ध्यानाकर्षण गराइएको बताउनु भएको छ ।
सशस्त्रले अस्थायी किसिमले बनाएको छेकबारमा थप व्यवस्थित किसिमले तटबन्ध कस्न भारतले पनि सहमति दिइसकेकाले जनताको तटबन्धले तत्कालै काम गर्ने बताएको गाउँपालिका अध्यक्ष साहले जानकारी दिनुभएको छ ।