कनकाई अनलाईन
झापा तथा पूर्वी जिल्लाहरुमा जूवा खेल्ने र खेलाउने अभियोगमा पटकपटक पक्राउ पर्दै र छुट्दै आएका मोरङ उर्लाबारीका अर्जुन तुम्रोक शुक्रबार फेरि पक्राउ परेका छन् ।
यस पटक उनी जिल्ला अदालतबाट जूवासम्बन्धी मुद्दामा पहिल्यै फैसला भएको सजाय भुक्तानीका लागि पक्राउ परेका हुन् ।
अदालतको फैसलाका कारण तुम्रोक फरार अभियुक्तका रुपमा प्रहरीको खोजीमा थिए । तुम्रोकलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले पुष्टि गरेका छन् ।
तुम्रोकलाई कुनै नयाँ मुद्दा वा अभियोगमा नभई अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा पक्राउ गरेको डीएसपी राईले स्पष्ट पारे ।
अदालतले तुम्रोकलाई के कति कैद र जरिवानाको फैसला गरेको छ त्यस विषयमा आइतबार अदालत खुलेपछिमात्रै स्पष्ट हुने प्रवक्ता राईले बताए ।
उनी उपर अदालतले कैद र जरिवाना गरेको भरपर्दो जानकारीकै आधारमा पक्राउ गरेको प्रवक्ता डीएसपी राईले बताए ।
उर्लाबारी मंगलबारेका ४७ वर्षीय तुम्रोक जूवा खेल्ने र खेलाउने क्रममा पटकपटक पक्राउ पर्दै आएका व्यक्ति हुन् ।
उनले जूवा आफ्नो लागि कूलत भएको साथीभाइलाई बताउने गरेका छन् । तुम्रोकले जंगलमा समेत जूवा खेलाउने गरेका थिए ।
एकताका उनले तत्कालीन समयमा विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्य भएर आफ्नो राजनीतिक रुचि पनि प्रकट गरेका थिए ।