द्रोण अधिकारी
नेपाली समाजले कृषि र पशुपालन व्यवसायलाई उन्नत कार्यका रूपमा हेर्दैन । यी दुई व्यवसाय नै देशको समृद्धि हो भन्ने नबुझेको यस समाजमा कृषि र पशुपालनको माध्यमबाट समृद्धिको सहज यात्रा तय गर्ने हिम्मत कमैले लिएका हुन्छन् । शरीरमा बल र मस्तिकमा बुद्धि पसेपछि अधिकाम्स नेपाली युवा सुनौलो भविष्यको खोजी गर्न भन्दै परदेशको माटोमा दौडन्छन् ।
अधिकाम्स युवा स्वदेशमा अवसर र सुनौलो भविष्य नदेखेर विदेश मोहमा दौडेका हुन् । तर, आफ्नै जन्मभूमिमा बसेर भविष्य सुनौलो बनाउन सकिने सोच पालेका थोरै युवाहरूको रगत पसिना समृद्ध नेपालका लागि इटा सावित भएका केही नमूना पनि छन् । यस्ता परिश्रमी युवाका सफलताका कथा विरलै सन्न र देख्न पाइन्छन् ।
यस्तै युवाहरू मध्येमा रहेका झापा अर्जुनधारा ९ शनिश्चरेका युवा कमल कडरियाको ४ वर्षयताको उन्नत बाख्रा पालन व्यवसायलाई नमुनाका रूपमा हेर्न सकिन्छ । १० वटा ५० प्रतिशतका बोयर जातका बाख्रा र एउटा १०० प्रतिशतको बोयर बोकाबाट उन्नत बाख्रा पालन सुरू गरेका कडरियाले व्यवसाय बढाउँदै ५० लाख बढीको उन्नत बाख्रा फर्म निर्माण गरिसकेका छन् ।
उनका उमेरका अधिकाम्स युवा विदेशमा रोजगारीमा छन् । उनलाई पनि बाख्रा पालन सुरू गर्दा आफन्त तथा साथीभाइले उभो नलाग्ने व्यवसाय भनेर निरुत्साहित गर्नेको लामै ताँती थियो तर स्वदेशमै बसेर केही न केही व्यवसाय मार्फत समृद्धिको बाटो बनाउने सपना पालेका कडरियाले कृषि भित्र पर्ने पशुपालनको माध्यम समातेर ४ वर्षमा उन्नतिको पथ निर्माण गरिसकेका छन् ।
आर.के एग्रीकल्चर नाम दिएर स्वरोजगार गरिरहेका कमल परम्परागत शैलीभन्दा केही भिन्न विधि अपनाएर उन्नत बाख्रा पालनमा जुटेका छन् । उनले घाँस र दाना दुवैमा आधारित बाख्रा पालन गरिरहेका छन् । ६० वटा बाख्रा रहेको उनको फरममा ४ जनाको रोजगारी सुनिश्चित भएको छ । अहिले उनका फरममा ६५ प्रतिशत ७५ प्रतिशत, ८७ प्रतिशत र शत प्रतिशत गरी ४ किसिमका उन्नत बोयर जातका बाख्रा छन् ।
राज्यबाट कुनै साथ र सहयोग नपाएको कडरियाको फरमबाट उत्पादित पाठापाठीको प्रतिशतका आधारमा मूल्य समेत तोकिएको छ । जस अनुसार ५० प्रतिशतका बोकाको प्रति केजी १५ सय, पाठी १२ सय, ७५ प्रतिशतका लागि बोकाको २५ सय, पाठीको २ हजार, ८७ प्रतिशतका लागि बोकाको ३५ सय, पाठीको २५ सय मूल्य तोकेर बिक्री समेत गर्ने गरेका छन् ।
कडरियाको बाख्रापालनबाट ४ जना पूर्ण रूपमा रोजगार छन् भने कृषि र पशुपालनमा भविष्य नदेख्नेका लागि मेहनत गरे उन्नति गर्न सकिने उदाहरण समेत निर्माण भएको छ । उनी आफ्नै देशमा बसेर पनि राम्रो उन्नति गर्न सकिने बताउँदै नाम र दाम कमाउन विदेश धाउनु नपर्ने धारणा राख्छन् ।
एउटा व्यक्तिको प्रयासमा राज्यको सहयोग पनि मिसिने हो भने व्यवसायिक उन्नतिले समाज रूपान्तरणमा छिटो गतिलिने विश्वास राख्ने कडरिया नमूना बाख्रा पालन फरम निर्माणको चरणमा छन् ।