कनकाई अनलाईन
कनकाई नगरपालिकामा लकडाउन आजबाट हटेको छ । लकडाउनमा बसेका नागरिकहरुमा अर्को कहर थपिएको छ । कोरोना कहरकामा रहेका नगरवाशीलाई अहिले हात्ती आतंकले सताएको छ । कनकाई नगरपालिका दोस्रो पटक पुरै लकडाउन भएको दुई साता हुनलाग्यो । ठिक दुई सातादेखि कनकाई नगरपालिका १ र २ नम्बर वार्डमा हात्ती आतंकले सताएको छ । दैनिक आउने हात्तीको बथानले कनकाई १ र २ मा पाक्न लागेको धानवाली मात्रै खाएको छैन मानिसको घर समेत भत्काइदिएर बिचल्नी बनाइदिएको छ ।
कनकाई १ का पत्रकार एकराज गिरी सहित धनपति खतिवडा,मनोज अधिकारी लगायातको खेतमा पाक्न तयारी अवस्थाको धानवाली हात्तीले खाएर तथा कुल्चिएर नष्ट गरिदिएको छ । प्रतिबोरा २४ सय रुपैँया सम्ममा भारतीय बजारबाट युरिया मल हालेर हुर्काएको धानवाली हात्तीको बथानले नष्ट गरेपछि यहाँका कृषकहरु थप मारमा परेको प्रजापति सामुदायिक वन समुहका अध्यक्ष सुर्य थापाले बताउँनुभयो । हात्तीले कृषकको पाक्न लागेको धानमात्रै नखाएर वारीको तरकारी र कोलावारी समेत खाईदिएको पिडित कृषकको गुनासो रहेको छ । सरकारले हात्तीले मान्छे मार्दामात्रै केहि रकम राहत दिने गरेको भएपनि कृषकको वालीमा क्षति पुर्याउदा भने कुनै क्षतिपूर्ति दिने नगरेको किसानको गुनासो रहेको छ ।
यता हात्तीले स्थानीय सविन दुलालको घर समेत भत्काइदिएको छ । रातीको समयमा आएको हात्तीले भकाभक घर भत्काइदिएको र आफुहरु भागेर ज्यान जोगाएको पिडितको भनाई छ । यता केहिदिन पहिले हात्तीको समुह कनकाई नगरपालिका ७ स्थित दलित भवनमा रहेको क्वारेन्टिनमा प्रवेश गरेपछि क्वारेन्टिनमा रहेकाहरु समते ज्यान जोगाउन क्वारेन्टिनबाट निस्केर भागेका थिए । उनीहरु हात्ती अन्यत्र गएपछि मात्रै पुन क्वारेन्टिनमा फर्किएका थिए । हाल कनकाई ७ मा रहेको दलित भवनमा रहेको क्वारेन्टिनमा ३ जना रहेको कनकाई कोरोना सुचना तथा संचार केन्द्रका सदस्य लक्ष्मी अधिकारीले बताउँनुभयो ।
कनकाई नगरपालिका क्षेत्रमा लकडाउनको वेलामा समेत हात्तीले आतंक मच्चाउन थालेपछि घरमै बस्नुपर्नेमा दिनहु ठुलो जमात भेला भएर हात्ती खेदाउन बाध्य भएका छन । यता प्रजापति सामुदायिक वन समुहले आफ्ना उपभोक्तालाई १० थान हात्ती धपाउन नक्कली तोप उपलब्ध गराईको भएपनि तोप पड्कदा केहि पर भागेपनि हात्ती पुन फर्केर आइ दुःख दिन नछाडेको वन समुहका अध्यक्ष थापाले बताउँनुभयो ।