कनकाई अनलाईन
बिर्तामोड । कोरोनाको संक्रमणको समयमा फ्रन्टलाइनमा रहेर काम गर्नेहरु बढी जोखिममा हुन्छन् । बिशेषगरी स्वास्थ्यकर्मी, संचारकर्मी र सुरक्षाकर्मीहरु । उनीहरु मध्ये स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको सुरक्षाका लागि त सरकारले केही प्रवन्ध गरिरहेको छ । संचारकर्मीहरु, जो अहोरात्र सुचनाको संबाहक बनेर खटिरहेका हुन्छन् । उनीहरुका बारेमा न सरकार, न समुदायले सहयोग गरेको पाइन्छ ।
यसका लागि संचारक्षेत्र नै सजग हुन जरुरी हुन्छ । यही सजगता र सर्तकताका लागि प्रेस संगठन नेपाल झापाले एउटा बिशेष अभियान चलाइरहेको छ । खासगरी लकडाउन वा निशेधाज्ञाको समयमा पनि फ्रन्टलाइनमा बसेर काम गर्नुपर्छ, उनीहरुलाई कोरोनाको संक्रमणबाट बँचाउन र आइपर्ने जोखिम कम गर्नका लागि प्रेस ज्याकेट बितरण र बिमा गरिदिने अभियान चलाइएको प्रेस संगठन नेपालका केन्द्रिय सदस्य तीर्थ सिग्देलले बताउनुभयो ।
यसै अभियान अन्तरगत यसअघि ३१ संचारकर्मीको कोरोना बिमा गरिएकोमा थप ३१ जनाकै बिमा गर्न लागिएको उहाँले बताउनुभयो । यसैगरी संगठनकै योजना अनुसार संचारकर्मीहरुका लागि २ सय थान प्रेस ज्याकेट तयार भएको र हाल ५० थान बितरण गरिसकेको संगठनका झापा अध्यक्ष मुक्ति पौडेलले जानकारी दिनुभयो । प्रेस ज्याकेट बन्द लगायतको समयमा अत्यावश्यक हुन्छ । जसका कारण संचारकर्मीहरुलाई रिर्पोटिंगमा जान आउन सहज हुनेछ ।