कनकाई अनलाईन
प्रदेश नम्बर एककी सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले व्याक्तिगत लगानीमा झापामा स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको छ ।
राज्यमन्त्री गजमेरले १५० थान पिपिइ, दुई हजार ८ सय थान सर्जिकल मास्क, ५०० थान सर्जिकल पंजा र १५० थान एन–९५ मास्क शुक्रबार स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेललाई हस्तान्तरण गर्नुभयो ।
विराटनगरस्थित मन्त्रालयबाट राज्यमन्त्री गजमेर आफैँ ती सामान लिएर झापा आएर स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको हो । पौडेलले ती सामान झापामा दोस्रो कोरोना भेटिएको बाह्रदशी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई वितरण गरिने बताउँनुभयो । राज्यमन्त्री गजमेरले शुक्रबार नै बाह्रदशी गाउँपालिकाको कोरोना प्रभावित क्षेत्रमा पुगी त्यहाँको समस्याका वारेमा जानकारी लिनुभएको थियो ।
झापाको पहिलो कोरोना दमकमा र दोस्रो कोरोना बाह्रदशीमा पुष्टि भएको छ । दुवै क्षेत्रमा निगरानी र स्वास्थ्य परीक्षण तीव्र पारिएको हुँदा व्यक्तिगत सुरक्षाका स्वास्थ्य सामग्री र कोरोना जाँच्ने किटको माग बढिरहेको स्वास्थ्य कार्यालयका प्रमुख पौडेलले बताउनुभयो । झापाको दुई स्थानमा कोरोना भेटिएपछि त्यहा थप समस्या फैलन नदिन उच्च सर्तकता अपानाइएको छ भने कोरोना भेटिएको सम्बन्धित वार्डलाई सिल गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवत्ता महेन्द्रकुमार श्रेष्ठले बताउँनुभयो । बाह्रदशीको कोरोना प्रभावित क्षेत्रमा कम्तीमा ५ सय जनालाई कोरोना टेष्ट गरिन लागेको बाह्रदशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र दाहालले बताउँनुभयो ।