कनकाई अनलाईन
कनकाई नगरपालिका ४ सुरुङ्गाको त्रिवेणी टोलमा घरभित्र लुकाई राखिएको अवस्थामा ठुलो परिमाणाको साखु जातको काठ प्रहरी र शसस्त्र वन रक्षक टोलीले आज विहान बरामद गरेको छ ।
कनकाई ४ त्रिवेणी टोलको योगेन्द्र दंगालको घरभित्र लुकाई राखिएको अवस्थाको २१ थान साखु जातको फेन्टा काठ आज विहान साढे ८ बजेको समयमा सव डिभिजन वन कार्यालय सुरुङ्गा र इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले नियन्त्रणमा लिएको हो ।
घरधनी दंगाल हाल रोजगारीका लागि विदेशमा रहेको र घरमा श्रीमती देविमाया वस्नेत र साना केटाकेटीमात्रै रहेको स्थानीयको भनाई रहेको छ । बरामदी काठको मुचुल्का गरि हाल कनकाई सव डिभिजन वन कार्यालयमा उक्त काठ घाटगद्धीमा राखिएको कनकाई सव डिभिजन वन कार्यालयका सुवेदार हरिप्रसाद विश्वकर्माले बताउँनुभएको छ । वरामद गरिएको काठ २१.४२ क्युविक रहेको र यसको बजार मुल्य ८५ हजार रुपैँया रहेको समेत सुवेदार हरिप्रसाद विश्वकर्माले बताउँनुभयो ।
पछिल्लो समय प्रहरी र सारा देश देशलाई कोरोना मुक्त बनाउन र प्रभावकारी लकडाउनमा लागिरहेको वेला केहि व्याक्तीभने काठ तस्करी र अन्य चोरी धन्दामा समेत लागेको पाइएकोले सशस्त्र वन रक्षक टोली यसको रोकथाममा जुटेको विश्वकर्माले बताउँनुभयो । पछिल्लो समय झापा इलाम सिमा क्षेत्रको चुरे वन क्षेत्रमा ठुलो सङ्ख्यामा काचा सालका रुख कटान गरि झापाको सुरुङ्गा आसपासका क्षेत्रमा लुकाई राख्ने प्रचलन समेत बढेको पाइएको छ ।
तस्वीर ः बरामद काठलाई नियन्त्रणमा लिदै प्रहरी र कनकाई सव डिभिजनको सशस्त्र वन गस्ती टोली फोटो कनकाई अनलाईन