कनकाई अनलाईन
कनकाई नगरपालिका ४ सुरुङ्गाकी ७४ बर्षिय वृद्धा माता रनमाया गजुरेलले आफ्नो वृद्धभक्ताको रकम कोरोना विपत कोषमा १० हजार रुपैँया प्रदान गर्नुभएको छ ।
गजुरेलले कनकाई नगरपालिका ४ का वार्डध्यक्ष तथा कनकाई नगरपालिकाका प्रवक्ता गोविन्दप्रसाद पौड्याललाई उक्त रकम प्रदान गर्नुभएको हो । कनकाई माईको डिलमा एक्लै बस्दै आउनुभएकी माताले आफुभन्दा कमजोर गरिबहरुले यस कोरोना महासंकटका वेला खाना खाउन भनी वृद्धभक्ता पाएको रकम प्रदान गरेको बताउँनुभयो ।
वृद्ध माताको यस रकम सहयोगले सबैलाई भावुक बनाएको कनकाई नगरपालिका ४ का वार्डध्यक्ष पौड्यालले बताउँनुभयो । आफु घरमा २५ लाखको बिटो राखेर पनि ५ किलो चामल माग्नेहरुको समेत कमि नभइरहेको वेला यी वृद्धमाताले वृद्धभक्ताको रकम समेत कोरोना कोषमा जम्मा गरेर सबैको मन जित्नुभएको छ ।
यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न नगरपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम जम्मा गर्नका लागि कनकाई नगरपालिकाको कनकाई नगर विपत व्यावस्थापन कोषको नेपाल बैँकको खाता नम्बर १४७०३००००००००५००४००२ मा जम्मा गरिदिन समेत अनुरोध गरेको छ ।