कनकाई अनलाईन
झापा कारागारमा रहेका कैदी बन्दीले नेपाल सरकारबाट पाउँदै आएको दैनिक सिदा खर्च वापतको रकम रोकिएपछि आर्थिक समस्या परेको गुनासो गरेका छन्् । कैदी बन्दीलाई सरकारले दिँदै आएको चामल नियमित दिइरहे पनि नुन तेल खर्च वापतको सिदा रकम रोकिएपछि साग सब्जी लगायत खरिद गर्न समस्या उत्पन्न भएको हो ।
झापा कारागारमा हाल १ हजार १५ जना पुरुष, ७७ महिला र ५ जना आश्रित बाल बालिका छन् । कोभिड १९ को महामारी रोक्न सरकारले गरेको लकडाउनसँगै कैदीबन्दीले पाउँदै आएको दैनिक ६० रुपैयाँ रोकएपछि कैदीबन्दीले समस्या उत्पन्न भएको गुनासो गर्न थालेका छन् । फागुन १५ गतेयता कैदीबन्दीले सिदा वापतको रकम नपाएको उनीहरूको गुनासो छ । चामल भएपनि अन्य सागसब्जी, तेल, नुन नभएका कारण कारागारमा भोकमरी शुरु भएको एक कैदी बन्दी बताउँछन् । ‘चामल मात्रै खान मिलेन सरकारले रकम पठाउँदैन भन्दै उनीहरू कैदीबन्दीलाई सरकारले राहतको सट्टा आहत र पीँडा दिएको गुनासो सुनाउँछन् ।’
सिदा खर्च वापतको रकम नआएपछि कारागारमा समस्या उत्पन्न भएको जेलर राजेन्द्र निरौलाले भनाइ छ । प्रमुख जिल्ला अधिकारी हुदै विभागसम्म समस्याका बारेमा पटक– पटक लिखित तथा मौखिक जानकारी गराइसकिएको उनले सुनाए । हाल फायल अर्थमन्त्रालयमा अडकिएको हुनसक्ने उनको अनुमान छ । महिला कैदीको संख्या थोरै भएकोले चैत्र २३ गते कार्यालयका कर्मचारीहरूको तलव र अन्य खोजखाज गरेर महिला कैदी बन्दीलाई दिएको भए पनि पुरूष कैदी बन्दीलाई दिन नसकेको प्रमुख निरौलाको भनाइ छ ।
जेलरले जानकारी गराएपछि तत्काल विभागलाइ जानकारी गराइसकेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए । जिल्लाका सवै समस्या प्रशासनमा ठोकिँने हुदा सवै समस्या जानकारमा नभएकोले सम्बन्धित कार्यालय प्रमुख बढी जिम्मेवार हुनु पर्ने उनले बताए ।