द्रोण अधिकारी
घर अगाडि बगिरहेको मेची नदी विगतमा भद्रपुरका लेखबहादुर कार्की लगायत श्रमजीवि कृषकलाई त्रास र पीडाको भारी मात्र हुन्थ्यो । खोला कुन बेला गाउँ पस्ला र घर खेत बगाउला भन्ने त्रास पाल्ने भद्रपुर ५ का लेखबहादुर लगायत अधिकाम्स स्थानीय बासिन्दा आज त्यही खोलाको बगरमा आफ्नो जीवन गुजाराको आधार फेला पारेपछि त्रास मुक्त भएका छन् । जल, जमिन र जंगलमा श्रमजीविको पहुँच भए गरिबी, अभाव र अशिक्षा दूर हुन्छ भन्ने मान्यता पनि सत्य रहेको अनुभव कृषक कार्कीसित छ । उनले ५ वर्षयता आफ्नै गाउँ अगाडि बग्ने मेची नदीको बगर उपयोग गरेर परिवार धान्नेदेखि गरिबी अत्य गर्ने मौका समेत पाएका छन् । खरबुजा, काँक्रा, लौका लगायत लहरे खेती गरेर वर्षभरी परिवार धान्ने र केही जोहो गर्ने मौका मेची नदीको बगरले जुटाइ दिएको छ ।
भारतीय मजदुर एम.डी भुटुसित साझेदारी गरेर कार्कीले लगाएको खरबुजा खेतीले जीवन स्तरमै आमूल परिवर्तन गरिदियो । एम.डीसित खेती गर्ने सीप र कौशलता छ भने कार्कीसित लगानी र बजारीकरणको शक्ति छ । जसले गर्दा दुवै परिवारको चुल्हो बल्नेदेखि बाल बच्चाले राम्रो शिक्षालयमा अध्ययन गर्ने वातावरण समेत निर्माण भएको छ । बगर खेतीमा आउनु अगाडि अर्काको जनमन गर्दाको पीडा र अभाव अब दूर भएको छ । विगतमा भारतीय नागरिकहरूले मात्र बगर खेती गर्ने भद्रपुरमा कार्की परिवारको आगमनले श्रम गरे के हुन्न ? भन्ने मान्यता स्थापित गराइ दिएको छ । नेपालीहरू आफ्ना अगाडि बगिरहेका खोला नदीका बगरबाट पनि आम्दानी लिन सक्छन् भन्ने विश्वास कार्कीले स्थापित गराइ दिए । खासगरी भारतका बिहारी समुदाय मात्र देखिने बगर खेतीमा नेपालका पहाडे समुदाय पनि अब्बल हुन सक्ने मान्यता कार्कीको कृषि कर्मले पुष्टि गरिदिएको छ ।
१५ वर्षयता खरबुजा खेतीमा लागेको कार्की परिवार भारतीय कृषि मजदुरको भरमै व्यवसाय सञ्चालन गरिरहेका छन् । विगतमा जस्तो अचेल कृषि मजदुर पाउन छोडेपछि आफैंले बगर खेतीको सीप विकास गरेर काम गर्न थालेको कार्की बताउँछन् । यस वर्ष कार्कीले ७ हजार खरबुजाको बोट रोपेको सुनाए । उनले मल, बिऊ, मजदुर गरेर १ लाख ६० हजार बढी खर्चिसकेको जानकारी दिए । यस वर्षको उत्पादन तयार भयो तर लकडाउनले बजारमा पुरयाउन सकिने अवस्था छैन भन्दै कार्की अर्को हप्तासम्म लकडाउन नखुले खरबुजा बिग्रने चिन्ता लागेको सुनाउँछन् । उनको बगर खेतीमा कालो र सेतो पाङ्ग्रे खजबुजा लटरम्म छन् ।
प्रति किलो २० रूपैयामा बेच्दा लगानी उठ्ने सुनाउने कार्कीलाई बिचौलियाका कारण आफ्नो उत्पादनले उचित मूल्य नपाएको दुखेसो छ । उनी भन्छन्—“कृषका उत्पादनलाई कृषक आफैंले सजिलै बजारमा बेच्न सक्ने नीति राज्यले बनाउनु पर्छ अनि मात्र बिचौलिया आतङ्क बन्द हुन्छ ।”