Kanakai Online

कनकाईले खडा गर्यो ३५ लाखको विपत कोष (भिडियो सहित)


मङ्गलवार, चैत १८, २०७६ |

केशव चापागाईँ
कनकाई नगरपालिकाले कोरोना महामारीबाट आफ्ना नगरपालिकाका नागरिकलाई सहयोग गर्न कम्तीमा ३५ लाखबाट कोरोना विपत कोषको स्थापना गरेको छ ।
सो कोषमा कनकाई नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधिहरुबाट एक महिनाको तलब कोषमा जम्मा गरिएको र कनकाई नगरपालिकाका कर्मचारीबाट समेत राहत कोषमा रकम जम्मा भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभएको छ । यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न नगरपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।


रकम जम्मा गर्नका लागि कनकाई नगरपालिकाको कनकाई नगर विपत व्यावस्थापन कोषको नेपाल बैँकको खाता नम्बर १४७०३००००००००५००४००२ मा जम्मा गरिदिन समेत अनुरोध गरेको छ ।
कनकाई नगरपालिकाले विपत व्यावस्थापन कोषबाट पिडित व्याक्तिहरुको औषधि उपचार तथा राहत सामाग्रीको व्यावस्थापन मिलाइने र कोषको पारदर्शिताका लागि नगरको वेवसाइट र संचार माध्यमबाट खर्च र दाताको रकम सार्बजनिक गरिने समेत कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभएको छ ।
नगरपालिकाले कनकाई नगरपालिकाभित्र दुर्गापुरको दलित भवन र सुरुङ्गा अतिथि सदनमा दुई स्थानमा ४० बेड क्षमताको क्वारेन्टाइन स्थापना गरि त्यहाँ रहेका नागरिकलाई निशुल्क खाना, बस्न, औषधि उपचार र फ्रि वाईफाईको समेत प्रबन्ध गरेको छ ।
नगरपालिकाले नगरभित्र रहेका ९ बटै वार्डका अत्यन्तै गरिब मजदुर र कम आय भएका नागरिकको तथ्याङ्ग संकलन गरि उनीहरुलाई कम्तीमा १५ दिन खान पुग्ने चामल, तेल , नुन र साबुन पर्सी बिहीवारबाट वितरण गर्न लागेको जनाएको छ । गरिब परिवारको तथ्याङ्ग संकलनका लागि प्रत्येक वार्डमा रहेका जनप्रतिनिधि र टोल विकास समितिलाई जिम्मा दिइसकिएको समेत नगरप्रमुख पोखरेलले बताउनुभयो ।


विपत कोष स्थापना कार्यक्रममा नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाई, प्रमुख प्रशासकिय अधिकृत पिताम्बर गौतम, वार्डअध्यक्षहरु रोषनराज पोखरेल, परशुराम गिरी , रुद्रप्रसाद चिमरिया, गोविन्द पौड्याल लगायातको सहभागिता रहेको थियो ।