कनकाई अनलाईन
कोभिड १९ (नोवेल कोरोना भाइरस) संक्रमणको आशंकामा भद्रपुर स्थित मेची अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत युवकको स्वाब थ्रोट परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट आएको उनको स्वाब थ्रोट परीक्षणको रिपोर्ट नेगेटिभ आएको अस्पतालका मेसु डा. पीताम्बर ठाकुरले जानकारी दिए । उनको शारीरिक स्वास्थ्य अवस्थामा अहिले सामान्य रहेको समेत डा. ठाकुरले बताए ।
झापाको गौरदाह नगरपालिका बस्ने ३५ वर्षीय युवक कतारबाट वैदेशिक रोजगारीबाट गत चैत ४ गते घर फर्किएका थिए ।
फ्रान्सबाट आएकी कोरोना सङ्क्रमित नेपाली युवतीसँग एउटै विमानमा आएको भन्दै ती युवक आत्तिएर चैत ११ गते स्वास्थ्यकर्मीको सम्पर्क आएका थिए । तर, ती युवक कोरोना सङ्क्रमित युवतीसँग एउटै विमान नआएको पुष्टि भए पनि आइसोलेसन वार्डमै रहेर उपचार गरिरहेका थिए । मेचीमा अहिलेसम्म आइसोलेसेन वार्डमा भर्ना भएका योसँगै दुई जनाको स्वाब थ्रोट परीक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । अस्पताल प्रशसनको भनाइ अनुसार झापामा अहिलेसम्म कोरोना भाइरस संक्रमित कोही पनि फेला परेका छैनन् । लकडाउनको पूर्ण पालना गर्ने तथा भारतीय सीमाबाट कोही पनि भित्रन नपाउने हो भने कोरोना संक्रमण नियन्त्रित हुने विश्वास स्वास्थ्यकर्मीहरूमा रहेको छ ।


