Kanakai Online

झापामा मोटरसाइकले प्रहरीलाई टेरेनन्, बिहिवारबाट पूरै नियन्त्रणमा लिने


बुधवार, चैत १२, २०७६ |

कनकाई अनलाईन
झापा, १२ चैत । सरकारले कोरोना भाइरस संकमण हुन नदिन गरेको लकडाउनको अवज्ञा गर्ने मोटरसाइकल लगायतका सवारीसाधन बिहिवारबाट झापाको प्रहरीले नियन्त्रणमा लिने भएको छ ।

झापा प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले अत्यावश्क र अनुमति लिएका बाहेकका सवारी साधन नियन्त्रण लिने बताए । उनले नियन्त्रण लिएका सवारीसाधन लकडाउन पूर्णरुपले अन्त्य नभएसम्म फिर्ता नगर्ने चेतावनी दिएका छन् ।

कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले एक साता लकडाउन घोषणा गरेपनि प्रहरीलाई अटेर गरेर मानिस सडकमा निस्किन थालेका छन् । सागसब्जी तथा खाद्यान्न खरिद गर्ने बहनामा बजार क्षेत्रमा हुने अनावश्यक भिडलाई पनि प्रसाशनले रोक लगाउने तयारी गरेको प्रजिअ राना मगरले बताए ।

बिर्तामोडको कृषिथोक बजारमा खाजसब्जी खरिद गर्ने बहानामा साँझमा ठूलो भिड लाग्ने गरेको छ । कृषिथोकको वैकल्पिक व्यवस्था नगर्ने हो भने संक्रमणको सम्भावना देखिएको प्रसाशनको बुझाई छ ।

ईलाका प्रहरी कार्यालय झिलझिले र अस्थाई ट्राफिक प्रहरी पोष्टको संयुक्त टोलीले १ सय ५ वटा मोटरसाईकल र ४ वटा अटोरिक्सा नियन्त्रणमा लिएको छ । लकडाउनको अवज्ञा गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ९७ वटा मोटरसाईकल र स्कुटी नियन्त्रणमा लिएको छ भने ७ वटा अटो रिक्सालाई पनि नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयमा राखिएको छ ।

बिहिवारबाट जिल्लाका सबै स्थानमा अनुमति बिना संचालन हुने मोटरसाइकल लगायतका सवारीसधान नियन्त्रणमा लिने झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले बताए ।

सरकारले कोरोना भाइरस संक्रमण नहोस भनेर गरेको लकडाउन कतिपय नागरिकले नेपाल बन्दको अर्थमा बुझेका छन् । साँझ ५ बजेपछि नागरिक मोटरसाइकल लगायतका साधन लिएर सडकमा निस्कन थालेका छन् । यसले लकडाउन निस्प्रभावी हुन सम्भावना रहेको छ ।

सम्बन्धित खबर