Kanakai Online

कांग्रेस झापाको कोरोना सचेतना


शुक्रवार, चैत ७, २०७६ |

कनकाई अनलाईन
नेपाली काँग्रेस झापाले कोरोना रोग बिरूद्ध सचेतना तथा सावधानी अपनाउन ध्यानाकर्षण गराउँदै झापाका प्रमुख जिल्ला अधिकारी सहित भारतीय सीमावर्ती प्रवेश नाकाका स्थानीय तह प्रमुखहरूलाई ज्ञापनपत्र बुझाएको छ ।
छिमेकी राष्ट्र भारतमा कोरोना रोगको संक्रमण तीब्र हुँदै गएपछि सो रोगको संक्रमणबाट बच्न सीमा नाका बन्द गरी आन्तरिक सुरक्षा प्रवद्र्धन गर्न माग राखी झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामार्फत ज्ञापनपत्र बुझाएको हो ।
नेपाली काँग्रेस झापाका प्रचार विभाग प्रमुख कृष्ण हुमागाई नेतृत्व टोलीले नेपाल भारतका प्रवेश नाका तथा खुल्ला सिमाना बन्द गरी रोग संक्रमण जोखिम घटाउनु पर्ने, आपत कालिन आवगमनमा भरपर्दो चेक जाँच गरिनु पर्ने, स्वास्थ्य परीक्षणमा खटिने स्वास्थ्यकर्मीलाई विशेष प्रशिक्षण र प्रोत्साहन भत्ता दिइनु पर्ने, कालोबजारी रोक्नु पर्ने, मेची अञ्चल अस्पताल लगायत सरकारी तथा निजी अस्पतालहरूलाई जोखिम सामना गर्न आइसुलेशन वार्ड निर्माण गरिनु पर्ने, आवश्यक पर्ने क्वारेन्टाइन झापाका १५ वटै स्थानीय तहमा सुरक्षित स्थानमा निर्माण गरिनु पर्ने, रोग संक्रमणबाट बच्न नागरिक तहमा सतर्कताका लागि स्थानीय सञ्चारमाध्यमहरूको अधिकतम उपयोग गर्नु पर्ने लगायत १२ बुँदामा सुझाव सहित ध्यानाकर्षण गरी ज्ञापनपत्र बुझाइएको हो ।ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले माघ १८ गतेबाटै झापाको काँकरभिट्टा नाकामा चेक पोष्ट राखी परिक्षण गरिरहेको जानकारी दिँदै हाल झापाका ५ वटे नाकामा नेपाल भारत आवत जावत गर्ने व्यक्तिको थर्मल गन मार्फत उच्च स्थरीय चेकजाँच भइरहेको जानकारी दिए ।

प्र जि अ रानाले कालो बजारी रोक्न वजार अनुगमनलाई तीव्रता दिएको भन्दै यस बीचमा ८ सय बढी माक्स कालोबजारी गरी बढी मुल्यमा बेच्न खोजेको अवस्थामा नियन्त्रणमा लिएर बिक्रेतालाई कानुनी दायरामा ल्याइएको जानकारी दिए । उनले प्रदेश सरकारको कार्योजना अनुसार सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा एकद्वार सूचना प्रणाली व्यवस्थापन गरिएको जानकारी दिए ।

सम्बन्धित खबर