Kanakai Online

तेस्रो सताक्षी गोल्डकपको उपाधि मच्छिन्द्रलाई


आइतवार, फागुन ११, २०७६ |

लीलाराज झापाली
खेल सुरु भएको दोस्रो मिनेटमै प्रतिद्धन्द्धी थ्री स्टारलाई गोल गर्न सफल बनेपछि लिग विजेता सानमिगल मच्छिन्द्र क्लबले तेस्रो सताक्षी गोल्डकपको उपाधि जितेको छ । उपाधिको रक्षासगै मछिन्द्रले यो सिजनको पहिलो उपाधि जित्दै नगद ६ लाख रुपैयाँ प्राप्त गरेको छ ।
मछिन्द्रका विदेशी खेलाडी अडेलाजा सोमिडेलाई थ्री स्टारका खेलाडी अशोक खबासले पेलान्टी एरियामा लडाएपछि म्याच रेफ्रि कविन व्यानजनकारले सोझै पेलान्टी प्रहारको मौका दिनुभएको थियो । मछिन्द्रका लागि भरपर्दा खेलाडी बिमल घर्तीमगरले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाउनुभयो । थ्री स्टारका लागि पेलान्टी एरियामा सोमिडेलाई लगाउनुनै घातक बनेको थियो । यहि एक गोल मछिन्द्रका लागि जितको आधार बनेको हो ।

सोमिडेले थ्री स्टारका ४ खेलाडीलाई छलाएर एक्लै गोलपोष्टमा लैजानेक्रममा थ्री स्टारका डिफेन्स खबासले खराब ट्याकल गर्दै लगाउनुभएको थियो । प्रतियोगितामा दोस्रो बनेको थ्री स्टारले नगद ३ लाख रुपैँया पाएको छ ।
प्रतियोगितामा पहिलो हाफ मछेन्द्रले तथा दोस्रो हाफमा थ्री स्टारले खेलमा दवाव बनाएका थिए । खेलको खेलको ७ औ मिनेटमा मछिन्द्रका सोमिडे रनिङ वलमा गोलगर्न थोरै चुक्दा अग्रता दोब्बर बनाउन सक्नुभएन । यसैगरि नवौँ मिनेटमा विशाल राई ‘बि’ को प्रहार थ्रि स्टारका गोल किप्पर पूर्ण चेम्जोङले बचाउनुभयो ।
खेलको २३ औँ मिनेटमा पेनाल्टी एरिया नजिकबाट थ्रि स्टारका लालरामको प्रहार बार छेवैबाट बाहिरियो । ३९ औँ मिनेटमा थ्री स्टारका अशोक खवासको पासमा लालरामको हेडर बाहियिो । ४३ औँ मिनेटमा मच्छिन्द्रका गोल किप्पर विशाल श्रेष्ठ बिट भएको मौकामा खाली पोष्टमा थ्री स्टारका खेलाडी लालरामले गरेको प्रहार मछेन्द्रका डिफेन्स देवेन्द्र तामाङले गोल लाइन नजिकबाट उत्कृष्ट क्लियर गर्दै खेल बराबरी हुनबाट जोगाउदा पहिलो हाफ मछिन्द्र १—० को अग्रता बनाएको थियो ।
यसैगरि खेलको ४६ औँ मिनेटमा मछिन्द्रका रेजिन सुब्बाको पासमा विमल घर्ती मगरको प्रहार आकाशियो । खेलको ५८ औ मिनेटमा थ्री स्टारका संजोग राईको प्रहार बाहिरियो भने ६१ औँ मिनेटमा थ्री स्टारका दिपेश घलेको प्रहार आकाशिएको थियो । ६६ औँ मिनेटमा मछेन्द्रका आन्द्रेसको हेडर रिबाउन्ड हुँदा विशाल राई ‘बि’ को प्रहार थ्री स्टारका गोल किप्पर चेम्जोङले पञ्च गरेर बचाउनुभयो । ७४ औँ मिनेटमा थ्री स्टारका मिक्चेन तामाङको फ्रिकिक प्रहार मच्छिन्द्रका गोलपोस्टमा लागेर फर्कियो ।
खेलको इन्जुरी टाइमा समेत थ्री स्टारका मिक्चेन तामाङको प्रहार मछिन्द्रका विशाल राईले पन्च गरेर बचाएपछि थ्री स्टार खेलमा फर्किन सकेन । फाइनल खेलको म्यान अफ दि म्याच मच्छिन्द्रका देवेन्द्र तामाङ हुनुभयो उहाँले नगद १० हजार रुपैँया पाउनुभयो ।
त्यस्तै, प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्ट थ्रि स्टारका कप्तान विक्रम लामा हुनुभयो उहाँले नगद ५० हजार प्राप्त गर्नुभयो । प्रतियोगिताको हाइ स्कोरर थ्रि स्टारकै सञ्जोग राई हुनुभयो । प्रतियोगिताभरि दुई गोल मात्रै गर्नुभएका उहाँले नगद २५ हजार पाउनुभयो । प्रतियोगिताको उत्कृष्ट गोल किप्पर विजेता टिमका विशाल श्रेष्ठ, बेस्ट डिफेन्स मच्छिन्द्रका पिटर सेगुन, बेस्ट मिडफिल्ड थ्रि स्टारका रुपेश केसी, बेस्ट फरवाड मच्छिन्द्रका रेजिन सुब्बा र बेस्ट कोच विजेता टिमका प्रवेश कटवाल हुनुभयो उहाँहरुले जनहि २० हजार रुपैयाँ पाउनुभयो । उदयीमान खेलाडीका रुपमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबका सञ्जीत राईले समेत नगद २० हजार रुपैयाँ पाउनुभयो ।
बिजयी तथा उपबिजयी खेलाडीलाई प्रमुख अतिथि अखिल नेपाल फुटबल क्लब (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, आयोजक अध्यक्ष रमश लावतीलगायतले नगद, ट्रफी तथा मेडल प्रदान गर्नुभयो ।