कनकाई अनलाईन
झापा बिर्तामोडका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले नगर क्षेत्रकै एक निजी विद्यालयमा ‘जेसीबी लगाएर स्कूल भत्काइदिन्छु’ भनेपछि त्रासको वातावरण सिर्जना भएको छ ।
नगर प्रमुख शिवाकोटी नेतृत्वको २४÷२५ जनाको समूह बिना अनुमति स्कूल हाताभित्र पसेको र धम्कीपूर्ण अभिव्यक्ति दिँदा विद्यालयमा त्रासको वातावरण सिजर्ना भएको बिर्तामोड–५ स्थित अनारमनी लिवर्टी स्कूलका प्रिन्सिपल पूर्णप्रसाद विष्टले बताउनुभयो ।
विद्यालय परिसरमा आज पत्रकार सम्मेलनको आयोजना गरी विद्यालयले घटनाको निन्दा र भत्सर्ना गरेको छ । ‘नगरप्रमुखले विद्यालय समयमा बिना अनुमति प्रवेश गरेर स्कूलको वाल भत्काइदिन्छु, स्कूल नै बन्द गरिदिन्छु भन्नुभयो’, प्रिन्सिपल विष्टले भन्नुभयो, ‘जसका कारण विद्यार्थी, शिक्षक, कर्मचारीमा त्रास फैलिएको छ ।’ विष्ट अनुसार नगरप्रमुखसहितको समूह बिहीबार दिउँसो ३ः२५ बजे विद्यालय परिसर प्रवेश गरेको थियो ।
बाटोको विवाद
विसं. २०५९ सालमा विद्यालयको दक्षिणतर्फ बाटो निकाल्ने सर्वपक्षीय छलफलमा १२ फुटको बाटो निकाल्ने सहमति भएको थियो । त्यसबेला एकातिर भीमबहादुर थापाको जग्गा (हाल विद्यालय निर्माण भएको छ) र अर्कातर्फ राधिका सुवेदी लगायतको जग्गा थियो ।
सो जग्गालाई आलीले छुट्याएको थियो । दुवै तर्फबाट ६÷६ फुट छोडेर बाटो निकाल्ने सहमति भए पनि केही स्थानीबासीको घर रहेकाले पछि अर्को घर बनाउने बेलामा बाटो छोड्ने सहमतिमा भएपछि भीमबहादुर थापाले एक्लै आवतजावतको सहजताका लागि १० फुट बाटो छोडिदिएका थिए । तर, अन्य स्थानीयबासीले हालसम्म बाटोका लागि जग्गा छोडेका छैनन् । बाटो हालसम्म १० फुटमै सीमित छ ।
हाल सोही बाटो १८ फुटको बनाउने प्रयास भइरहेको छ । बाटो बढाउन दुवै तर्फबाट ४÷४ फुट बढाउने कुरा चलेपछि भीमबहादुर थापा र उनकी छोरी रुबी थापाले आफूहरुले पहिले नै १० बाटो छोडिसकेको र बाटोका लागि थप जग्गा छोड्न नसक्ने जनाएपछि विवाद सिर्जना भएको हो ।
सोही क्रममा नगरप्रमुख शिवाकोटीले ‘यो स्कूलको वाल जेसीबी लगाएर तोडिदिन्छु, स्कूल नै बन्द गरिदिन्छु’ भन्दै हिँडेको र ‘दक्षिण पट्टीको बाटो पनि बन्द गरिदिन्छु हेरौँ कसरी स्कूल चलाउँदो रहेछ’ भनेको पीडित पक्षको दाबी छ ।
विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष आशिष खड्काले नगरप्रमुख जस्तो गरिमामय पदमा रहेको व्यक्तिले यस प्रकारको अभिव्यक्ति दिनु आपत्तिजनक रहेको बताउनुभयो । विद्यालय सबैको सार्वजनिक सम्पत्ति भएकाले त्यसको संरक्षण गर्नुपर्नेमा भत्काउने अभिव्यक्ति दिनु गलत भएको उनको भनाइ छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन अधिकारीले नगरप्रमुखबाटै धम्कीपूर्ण अभिव्यक्ति आएकाले आफूहरु त्रासमा रहेको र सरोकारवालासँग न्यायको अपिल गरेका छन् ।
यता, यो समाचार तयार पर्दाको समयमा घटनाका विषयमा बुझ्न बिर्तामोड नगर प्रमुख शिवाकोटीलाई नगरपालिकाको वेभसाइटमा रहेको ९८५२६७२०४६ मोबाइल नम्बरमा पटक–पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन (फोन उठेन) ।