कनकाई अनलाईन
झापाको शिवसताक्षी नगरपालिका झिलझिलेमा आइतवार(आज) देखि तेस्रो सताक्षी गोल्डकप सुरु हुदै छ ।
शनिवारदेखि हुने तयारी भएपनि जारी ए डिभिजन फुटबल लिगका कारण गोल्डकप एक दिन पछि सरेको हो ।
उद्घाटन खेल फागुन ४ गते आयोजक सताक्षीधाम स्पोटिङ्ग क्लव झापा र मनाङ्ग मस्याङ्दी क्लव काठमाण्डौविच हुने छ ।
फागुन १० गतेसम्म स्थानीय गणेशमानसिंह अध्यान प्रतिष्ठानको निर्माणधिन रङ्गशालामा हुने प्रतियोगितामा विदेशी एक दार्जिलिङ्ग फुटबल क्लव सहित नेपालका ए डिभिजनका नेपाल आर्मी, थ्री स्टार क्लव, मछिन्द्र क्लव काठमाण्डौ, मनाङ, बेलवारी मोरङ्ग र रुपन्देही ११ ले प्रतिस्पर्धा गर्ने निश्चित भएको आयोजक समितिका उपाध्यक्ष फुर्वा तामाङ्गले बताउँनुभयो । प्रतियोगितामा यस पटक भने घरलु अर्को चर्चित टिम झापा ११ ले भने सहभागिता नजनाउने निश्चित भएको छ । झापा ११ का टिम कोच प्रवेश कटुवाल सहित अधिकांस खेलाडीहरु काठमाण्डौका ए डिभिजनका क्लवहरुमा अनुबन्ध भइसकेकोले यस सिजनमा झापा ११ लाई खेलमा समावेश नगराइएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा दर्शकका लागि १० हजार दर्शक बस्न मिल्ने बाँसको अस्थायी प्याराफिट निर्माण गरिसकिएको छ । प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले नगद ६ लाख र ३ लाख रुपैँया पाउने छ । सर्वोकृष्ट खेलाडीले ५० हजार पाउने र विधागत खेलाडीले नगद २० हजार र हरेक म्याचको म्याद अफ द म्याचका खेलाडीले नगद १० हजार रुपैँया पाउने आयोजक समितिले जनाएको छ । प्रतियोगिता संचालन गर्न अनुमानित ७४ लाख रुपैँया लाग्ने आयोजक समितिका अध्यक्ष रमेश लावतीले बताउँनुभयो । गोल्डकपका लागि शिवसताक्षी नगरपालिकाले १० लाख रुपैँया सहयोग गरेको छ । झापाकै प्रतिष्ठित मानिने यस अघिको दुबै संकरणहरु विभागिय टिमले जितेका छन । पहिलो संकरण नेपाल पुलिस क्लव र दोस्रो संकरण त्रिभुवन आर्मीले हात पारेको थियो ।