Kanakai Online

त्रिवेणी सामुदायिकको ११ औ सभा


मङ्गलवार, पौष २२, २०७६ |

दोर्ण अधिकारी
कचनकवल ३ पथरिया स्थित त्रिवेणी सामुदायिक वन उपभोक्ता समूहको ११ औं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ ।
समूहका अध्यक्ष लीलाधरप्रसाद राजवंशीको अध्यक्षता तथा प्रदेश संसद बसन्त बानियाको प्रमुख आतिथ्यमा विविध कार्यक्रमका साथ साधारण सभा सम्पन्न गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश संसद बसन्त बानियाले पर्यावरणको संरक्षण गरी गरिबी न्युनिकरणमा सामुदायिक वन समूहको भूमिका महत्वपूर्ण रहेको धारणा राखे । उनले दक्षिण झापाको समृद्धिका लागि आफ्नो क्षेत्रमा विविध विकासका लागि २२ करोडका योजनाहरू कार्यान्वयनमा ल्याएको भन्दै वन समूहको कार्योजना सफल बनाउन सक्दो सहयोग दिने वचन समेत दिएका थिए ।
कार्यक्रममा समूहका अध्यक्ष राजवंशीले वाार्षिक प्रतिवेदन प्रस्तुत गर्दै १५३.०२ हेक्टर वन क्षेत्र तथा ७२० घरधुरीले उपभोग गरिरहेको वन सम्पदाबाट वार्षिक रूपमा सखुवा जातको काठ १५६७.२९ क्युफिट र अन्य जातको काठ ५३४.३९ क्युफिट काठ उपभोक्ताका लागि वितरण भइरहेको जानकारी दिएका थिए ।
यसैगरी सचिव टिका चापागाई भट्टराइले नीति तथा कार्यक्रम सहित सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी ५ वर्षका कार्योजना प्रस्तुत गरेकी थिइन् । सचिव भट्टराइले आगामी वर्षका लागि २८ लाख ७८ हजार ७ सय ५ रूपैयाको वार्षिक आय व्यय सहितको वजेट समेत प्रस्तुत गरेकी थिइन ।
उपाध्यक्ष सोम सुवेदीले स्वागत गरेको कार्यक्रममा जलथल सव डिभिजन वन कार्यालयका प्रमुख दिपकसेन भण्डारी, सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी महासंघ कचनकवल अध्यक्ष भीम लुँइटेल लगायतले मन्तव्य राख्दै वन ऐन २०७६ ले उपभोक्ता समूहलाई संकटमा पार्ने अवस्था रहेको धारणा राखेका थिए । कार्यक्रममा अति विपन्न ६ परिवारलाई एक एक थानका दरले निशुल्क खाट समेत प्रदान गरिएको थियो ।
चारकोशे जंगलको दक्षिणपट्टि रहेका ६ वटा वन समूह मध्ये बीचमा रहेको सो समूह लगायतका वन विकासका लागि स्थानीय सरकार बेखवर रहेको उपभोक्ताहरूले गुनासो गरेका छन् । गाउँ पालिका तथा अधिकाम्स वडा कार्यालयले वन विकासका लागि बेवास्ता गरेको स्थानीय उपभोक्ता समितिहरूको गुनासो रहेको छ । वर्तमान वन ऐनले स्थानीय सरकारलाई पहिलो जिम्मेवार सरकारको अधिकार दिए पनि कचनकवल गाउँ सरकार भने जिम्मेवारीबाट पछाडि सरेको सामुदायिक वन उपभोक्ता महासंघ कचनकवलका अध्यक्ष भीम लुँइटेलले जानकारी दिए ।