कनकाई अनलाईन
भद्रपुररझापा । मेची उद्योग वाणिज्य संघको आयोजनामा झापाको धुलाबारीमा सञ्चालित तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव आज सम्पन्न भएको छ ।
एशियन थाइ फुडको उत्पादन रमपम चाउचाउ मुख्य प्रायोजक र मेचीनगर नगरपालिका संरक्षक रहेको महोत्सवको भण्डै एक लाख अवलोकनकर्ताले अवलोकन गरेको र चार करोड रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजक संघका अध्यक्ष ऋषिराज तिम्सिनाले जानकारी दिनुभयो ।
यही पुस ९ गते प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको महोत्सवमा नेपाललगायत भारत, बंगलादेश, र पाकिस्तानका गरी दुई सय स्टल रहेका र सबैले उल्लेख्य कारोबार गरेका थिए भने विदेशी अवलोकनकर्ताहरुको पनि उल्लेख्य सहभागिता रहेको संघका महासचिव ध्रुव कनालले जानकारी दिनुभयो ।
महोत्सवमा जुम्लाको मार्सी चामलदेखि इलामको जौबारीमा उत्पादित बहुमूल्य बनस्पति केसरसम्मको स्टल रहेको थियो ।
आज समापन समारोहका प्रमुख अतिथि प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले आर्थिक बिकासमा यस्ता महोत्सवको महत्वपूर्ण भूमिका रहने भन्दै झापामा आवश्यक जग्गा उपलब्ध भए प्रदेश सरकारले सुविधासम्पन्न प्रदर्शनीस्थल निर्माण गर्ने जानकारी दिनुभयो ।
महोत्सव अवधिमा अर्थविज्ञहरुको सम्भाषण, निर्यात व्यापारसम्बन्धी अन्तरक्रियाहरुसमेत गरिएको थियो भने राष्ट्रिय कलाकारहरुको प्रस्तुति पनि रहेको संघका सचिव रविचन्द्र नेपालले जानकारी दिनुभयो ।