कनकाई अनलाईन
अत्याधिक जाडो बढेर गरिब तथा असक्तहरुको जनजिवन प्रभावित बनेपछि यहाँपस्थित ज्ञानज्योती युवा क्लव सुरुङ्गाले कपडा संकलन गरि नहुनेहरुलाई प्रदान गर्न थालेको छ ।
क्लवले सुरुङ्गा बजारमा कपडा बैँकको समेत स्थापना गरि कमजोर आर्थिक अवस्थामा मानिसलाई कपडा प्रदान गर्न सुरु गरेको हो । कपडा बैँकको प्रदेशसभा सदस्य हिराकुमार थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , उपप्रमुख मन्जु प्रसाई लगायातले उद्घाटन गर्नुभयो । कपडा बैँकको उद्घाटनको एक्कैदिन एक हजार जना भन्दा वढीलाई आवश्यकताअनुसार कपडा प्रदान गरिएको ज्ञानज्योती युवा क्लवका अध्यक्ष नारायण भेट्वालले बताउँनुभयो । उक्त कपडा क्लवका सदस्यहरुले कनकाई नगरपालिकाका ९ वटै वार्डमा गई घरदैलो गरि संकलन गरिएको क्लवका सहसचिव साजन आचार्यले बताउँनुभयो ।
सुरुङ्गा बजारमा स्थापना भएको कपडाबैँकबाट अव हरेक दिन कपडा हुनेले नयाँ पुराना कामलाग्ने कपडा दिने र नहुनेले त्यहिबाट छानेर लैजान पाउने अध्यक्ष भेट्वालले बताउँनुभयो । क्लबले स्थापना गरेको कपडा बैँकलाई यस क्षेत्रका कपडा व्यापारीहरुले समेत नविकेका नयाँ कपडासमेत प्रदान गरेका थिए । आगामी दिनमा कनकाईका ९ वटै वडामा घुम्ती शिविर संचालन गरेर कपडा वितरण गरिने क्लवका सचिव पारस खरेलले बताउँनुभयो ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य थापाले युवा क्लवको परोपकारी कार्यले सयौ वेसाहारालाई राहत मिलेको बताउँनुभयो ।
कनकाई नगरपालिकाका प्रमुख पोखरेलले कनकाई नगरपालिकाले समेत जनतालाई चिसोबाट जोगाउँन कम्बल बितरण र ठाउँ ठाउँमा सामुदायिक वन र प्रहरी सगको साझेदारीमा दाउरा बाल्न सुरु गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै समाजसेवी श्यामसुन्दर ओलीले युवा क्लवले खेल तमासा मात्रै खेलाउदै आएकोमा समाजलाईनै पदप्रर्दशक काम गरिदिएर देखाइदिएको बताउँनुभयो ।
कनकाई ३ मा मुख्य कार्यालय रहेको यस क्लवले यसअघि कनकाई नगरपालिकालाई बन्दनिषेधित नगर बनाउन अग्रणी भुमिका निभाएको थियो भने कनकाईलाई प्लाष्ट्रिक झोला प्रतिबन्ध लगाउन समेत आफ्नै आयोजना गरेको थियो ।