Kanakai Online

उपाधि भीडन्तमा आर्मी र चर्च ब्वाइज


आइतवार, कार्तिक २४, २०७६ |

लीलाराज झापाली
बिर्तामोड, कार्तिक २४ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा सिजनकै पहिलो उपाधि रक्षा गर्ने दाउमा छन् ।
बिर्तामोड डोमालाल रङ्गशालामा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको फाइनलमा स्पर्धी रहेका यी दुई टोली पहिलो पटक आमने सामने हुँदैछन् । सोमबार हुने फाइनल खेलमा दुवै टोलीले उपाधि रक्षा गर्ने आज रंगशालामा आयोजित प्रिम्याच कन्फरेन्समा दाबी गरे ।
आफ्नो पहिलो खेलमा पाहुना टोली भारतको मोलवे एफसी असामलाई २–० गोलले पराजित गरेको आर्मीले सेमिफाइनल खेलमा भारतकै आक्रमण एफसी सिक्किममा पराजित गरेको थियो । आर्मीले सिक्किमसँग निर्धारित समय गोलरहित बराबरी खेलेर टाइब्रेकरमा कठिन जीत निकालेर फाइनल यात्रा तय गरेको टोली हो ।
राम्रो टिमलाई पराजित गरेर आएपछि आर्मीका खेलाडीको मनोबल उच्च रहेको प्रशिक्षक नविन न्यौपानले बताउनुभयो । फाइनल खेलमा आफ्ना नयाँ खेलाडीको अनुभव नभएकाले यसअघि गरिएको गल्ती सच्याएर उपाधि रक्षा गर्ने उनको दाबी छ ।
स्ट्राइकरको कमी र फिनिसिङ हुन नसकेको कमजोरी स्वीकार्दै न्यौपानेले भन्नुभयो ‘हाम्रा मिस्टेक सुधारेर ९० मिनेटभित्रै नतिजा आफ्नो पक्षमा पार्ने दाउ छ ।’ नियमित खेलाडी राष्ट्रिय टोलीको क्याम्पमा, साग र यु १९ मा रहेको बताउँदै चर्च ब्वाइजको कमजोरीको फाइदा उठाएर जीत निकाल्ने उहाले दाबी गर्नुभयो ।
राम्रो टिमलाई पराजित गरेर फाइनलमा आएको चर्च ब्वाइजलाई कम आँक्न नमिल्ने बताउदै उहाले युवा खेलाडीले भरिएको चर्च ब्वाइजको सट पास खेल्ने कलालाई मार्क गरेको बताउनुभयो ।
आर्मीका कप्तान टेकबहादुर बुढाथोकीले चर्च ब्वाइजको प्लानिङलाई ब्रेक गरेर सिजनको पहिलो उपाधि रक्षा गर्ने रणनीतिका साथ मैदान उत्रने बताउनुभयो । आर्मीले यस रंगशालामा तीन पटक झापा गोल्डकपको उपाधि जितिसकेको छ भने यो चौथो पटक फाइनल भिडन्त हो ।
यसैगरी चर्च ब्वाइजका प्रशिक्षक रुवेन राईले नेपालकै राम्रो टिम आर्मीसँग फाइनल खेल्न पाउनु ठुलै अवसरका रुपमा लिएको बताउनुभयो । राईले , ‘यो संयोगमात्र नभएर , दुर्लभ भेट पनि हो भएको बताउनुभयो ।
आर्मीका नियमित तथा सिनियर खेलाडीको अभावले चर्च ब्वाइजले अवसरको रुपमा नलिने बताउनुभएका उहाले आर्मीको खेलअनुसार रणनीति बनाउने बताउनुभयो ।
राष्ट्रिय लिगको सी डिभिजनमा भर्खरै उक्लिएको चर्च ब्वाइज फाइनल जीतका लागि शतप्रतिशत मिहेनत गर्ने दाबी राईको छ । चर्च ब्वाइजले अर्को विभागी टोली नेपाल पुलिस क्लबलाई सेमिफाइनलमा १–० गोलले पाखा लगाउँदै फाइनल यात्रा तय गरेको थियो भने पहिलो खेलमा गोर्खा ब्वाइज स्पोर्टस् क्लब बुटबललाई टाइब्रेकरमा पराजित गरेको थियो ।
जायोन स्पोर्टस् क्लब बिर्तामोडले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार र उपविजेता टोलीले ६ लाख २५ हजार पाउनेछ ।
तस्वीर ः ट्रफिका साथ आर्मी र चर्च ब्वाईज टीम फोटो लीलाराज झापाली

सम्बन्धित खबर