Kanakai Online

देशकै पहिलो कार्यक्रम मन्त्री आङबो कनकाईका युवालाई स्वरोजगार रकम प्रदान


आइतवार, कार्तिक २४, २०७६ |

कनकाई अनलाईन

सुरुङ्गा । झापाको कनकाई नगरपाकिलाले आफ्नै स्रोतबाट युवालाई स्वरोजगार बनाउन लगानी गर्न सुरु गरेको छ ।
नगरपालिकाले स्वरोजगार कार्यक्रमअनुसार नगर क्षेत्रका ३२ युवालाई विभिन्न रोजगारीकोलागि प्रतिव्याक्ति एक लाखका दरले ३२ लाख रुपँैया स्वरोजगारका लागि प्रदान गरेको हो । युवालाई प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो मौसम, प्रदेश सभा सदस्य हिराकुमार थापा , कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले रकम हस्तानतरण गर्नुभयो ।
रकम हस्तानतरण गर्दै मन्त्री आङबोले नगरपालिकाबाटै युवालाई स्वरोजगार बन्नका लागि देशमै पहिलो पटक स्वरोजगार कोष बनाएर युवालाई उद्यमशील बन्न रकम प्रदान गरेको बताउनुभयो । आङबोले स्थानीय पालिकाहरुले ठुल्ठुला सडक बिजुलीका आफ्नो स्रोतले धान्नै नसक्ने योजना बनाउनुभन्दा आफ्नो स्रोत र साधनले भ्याउने र संविधानको क्षेत्रधिकार पर्ने कामगर्न अनुरोध गर्नुभयो । उहाँले स्थानीय सरकारले युवालाई स्वरोजगारी बनाउने योजनामा प्रदेश सरकार र अन्य स्थानीय तहले समेत सिक्नु जरुरी भएको बताउनुभयो । मन्त्री आङबोले अवका दिनमा देशका कोहिपनि युवा आफ्नो स्वेच्छिकवाहेक रोजगारीकै लागि विदेशिनु पर्ने बाध्यताको अन्त्य हुने दावी गर्नुभयो ।
कनकाई नगरपालिकाका प्रमुख पोखरेलले अघिल्लो बर्ष युवा स्वरोजगारका लागि २२ लाख ५० हजार रुपैँया २० जनालाई कृषि प्रयोजनका लागि प्रदान गरिएकोमा यसबर्ष ३२ जनालाई अन्य उद्यम गर्नका लागि प्रतिव्याक्ति एक लाखका दरले सो रकम प्रदान गरिएको बताउनुभयो । साथै सो स्वरोजगारको रकम अव चाडै एक करोड रुपैँया बनाइने समेत बताउनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य हिराकुमार थापाले युवाले पाएको रकमको सदुपयोग गर्न सुझाव दिनुभयो । कार्यक्रममा यसअघि स्वारोजगारको रकम लिएर प्रगति गर्ने युवाहरु सुरेश गौतम, मिना पाठक सिटौलाले आफ्ना सफलताका कथा सुनाउनका साथै आफ्ना उत्पादन अतिथिलाई प्रदान गर्नुभएको थियो । युवा स्वरोजगारका समितिका अध्यक्ष चुवालाल राजवंशीको अध्यक्षता सदस्य युवराज चम्लगाईको संचालन तथा कनकाई नगरपाकिलाकी उपप्रमुख मन्जु प्रसाईले स्वागत गर्नुभएको थियो । युवा स्वरोजगारको उक्त रकम सुरुङ्गास्थित पृथ्वी वचत तथा ऋण सहकारी संस्थाले संयोजन गरि बितरण गर्न लागेको हो ।
तस्वीर ः स्वारोजगारको एकलाखको दरले रकम हस्तानतरण गर्दै अर्थमन्त्री आङबो फोटो ः लीलाराज झापाली

सम्बन्धित खबर