कनकाई अनलाईन
काठ तस्करीको प्रमुख हाइवेका रुपमा परिचित शिवसताक्षी नगरपालिका १० दोमुखा क्षेत्रबाट लुकाइएको अवस्थापमा प्रहरीले ठुलो परिमाणको साखु जातको काठ बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय झिलझिलेले २०३ क्युफिट साखु जातको गोलिया बरामद गरेको छ ।
प्रहरीले इलामबाट खोलामा बगाएर झापातर्फ ल्याउनेक्रममा पानीमुनी लुकाइएको अवस्थामा १५ थान उक्त गोलिया काठ बरामद गरेको हो ।
खोलामा बगाएर ल्याउदै गरेको अवस्थामा उक्त गोलिया बुधवार बिहान सर्बसाधरणले देखेपछि प्रहरीलाई खबर गरेका थिए । सादा पोशाकमा खटिएका प्रहरीले उक्त परिमाणको गोलिया बरामद गरेपनि तस्करीमा संग्लनहरुभने फरार भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएस्पी महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
बरामद गरिएको सो परिमाणको गोलिया सो क्षेत्रमा हालसम्मकै एक्कै पटकमा बरामद गरिएको मध्ये ठुलो रहेको प्रहरीको भनाई छ । जुन गोलियाको चलनचल्तीको दरभाउ अनुसार करिब ७ लाख रुपैँया पर्ने बताइएको छ । बरामद सो गोलियालाई इलामको चुलाचुली सव डिभिजन कार्यालयलाई बुझाइएको छ, भने हाल सो गोलिया स्थानीय गैडे सामुदायिक वनको घाटगद्धीमा राखिएको छ ।
इलाम र झापाको सिमामा पर्ने दोमुखामा कनकाई नदिको वहावमा बगाएर दैनिक पचार्सौ क्युफिट साखु जातको काठ बगाएर भारततर्फ लैजाने गरिएको छ । महिना दिन पहिले मात्रै सोही स्थानमा काठ तस्करीमा आउने समुहले काठ चोरी तस्करी रोक्न खोज्ने स्थानीय ३ जना युवालाई धारिलो हतियार प्रहार गरि घाइते बनाएको थियो । प्रहरीले तस्करीमा संग्लन भएको आरोपमा एक जनालाई पक्राउ गरेपनि अन्यलाई भने हालसम्मपनि पक्राउ गर्न सकेको छैन ।