Kanakai Online

कनकाईको बिरिङ खोला पनि बैँकमा धितो


बिहिवार, कार्तिक २१, २०७६ |

कनकाई अनलाईन
कौडीको मूल्यपर्ने झापाको बिरिङ नदि बगरको जग्गा बैँकमा धितो राखि बैक अफ काठमाण्डौबाट ४ करोड ६० लाख रुपैँया कर्जा लिने ६ जनाको गिरोहलाई प्रहरीले बैकिङ कसुर मुद्धामा पक्राउ गरि बिहीवार झापा जिल्ला कारागारमा जेल चलान गरेको छ ।
काठमाण्डौ ३१ का सुरेन्द्र श्रेष्ठले संचालन गर्दै आएको स्वर्णिम एण्ड श्रीजन कम्पनीका नामबाट उक्त ऋण रकम सो समुहले राजमार्गको जग्गा देखाएर धितो खोला बगरको जग्गा राखेर निकालेको थियो ।
श्रेष्ठ सहितको समुहले राजमार्गको जग्गा सगै जोडिएको जग्गाको नक्कली नक्सा र कागजात बनाई कनकाई नगरपालिका ९ घैलाडुब्बामा रहेको खोला किनाराको जमिन धितो राखिएको पाइएकोले बैङ्गिङ कसुर र सरकारी छाप किर्ते दुबै शीर्षकमा मुद्धा चलाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएस्पी महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।
बैँङ्गिक कसुरको मिलोमतो देखिएकोले सुनसरी इटहरीको एभरेष्ट कन्सन्टेल्सीका इन्जिनियर भेषराज खत्री , मोरङ बेलवारी ३ का इन्जिनियर कर्ण चाम्लिङ, मकवानपुर हेटौडा ४ घरभई काठमाण्डौ महानगरपालिका ३१ बस्ने सुरेन्द्र श्रेष्ठ, काठमाण्डौ महानगरपालिका ३ घरभई काठमाण्डौ शंकरापुर १ बस्ने भुपेन्द्र श्रेष्ठ, चितवन भण्डारा बार्डनम्बर ९ घरभई हाल काठमाण्डौ नयाँ बानेश्वर बस्ने ऋषिश्वर थपलिया र उदयपुर गाइघाट घरभई हाल काठमाण्डौ महानगरपालिका ७ बस्ने कृष्ण कार्कीलाई जेल चलान गरिएको प्रहरी प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

सो समुहले पूर्वपश्चिम राजमार्ग किनाराको जमिन देखाई कनकाई नगरपालिका ९ मा बिरिङ खोला किनारामा रहेको कित्ता नम्बर ३५९६ को २ बिगाह र कित्ता नम्बर ३२७१ को २ बिगाह गरि ४ बिगाह जमिन धितो राखेको थियो । पक्राउ परेका उनीहरुलाई असोज ६ गते जिल्ला अदालत झापामा बैङ्गिक कसुर र सरकारी छाप तथा हस्ताक्षर किर्ते अभियोगमा मुद्धा दायर गरिएको थियो भने केन्द्रिय अनुसन्धान ब्युरो महाराजगंज काठमाण्डौमा समेत बैङ्गिङ कसुरको मुद्धा समेत खेपिरहेको प्रहरीले जनाएको छ । विभिन्न समयमा पक्राउ परेका सबैलाई हाल जिल्ला कारागार झापामै ल्याएर मुद्धाको कार्वाही अघि बढाइएको प्रहरीले जनाएको छ । विशेष अदालत काठमाण्डौले यसअघि सुरेन्द्र श्रेष्ठ, भुपेन्द्र श्रेष्ठ, ऋषिश्वर थपलिया र कृष्ण कार्कीलाई कारागार चलान गर्ने आदेश दिएको थियो तर झापामै किर्ते मुद्धा दर्ता भएकोले काठमाण्डौमा पक्राउ गरिएका सबैलाई बिहिवार झापाकै कारागार चलान गरेर मुद्धा प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाई छ । यसअघि विशेष अदालतले मागेको डेढ करोड रुपैँया धरौटी राखेर निस्किएका इन्जिनियर खत्रीलाई समेत प्रहरीले पुन पक्राउ गरेको हो । पक्राउ गरिएका मध्ये अर्का इन्जिनियर चाम्लिङ भने हाल विर्तामोडको विएण्डसी हस्पितलमा उपचारत् छन उनी जेल चलान भएका व्याक्ति हुन । प्रक्राउ गरिएका सबैसग थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।