कनकाई अनलाईन
बिर्तामोड । झापा बिर्तामोडका व्यवसायीले भद्रपुर सडक खण्डमा आवतजावत अवरोध गरेका छन् । उधोग वाणिज्य संघ बिर्तामोडको नेतृत्वमा बिर्तामोड–भद्रपुर सडक खण्डमा अवरोधसहित चक्काजाम गरिएको छ ।
सडक निर्माणमा ढिलाइ भएको भन्दै व्यवसायीले निर्माणलाई तत्काल सम्पन्न गर्न माग गर्दै विरोध जनाइरहेका छन् । सडक निर्माणमा लापरवाही हुँदा व्यापार व्यवसायमा समेत असर पु¥याएकोले व्यवसायी सडकमा निस्केका छन् । उनीहरुले सडक आसपासमा रहेका व्यवसायीले धुलोका कारण आम व्यवसायी र सर्वसाधरणमा प्रतिकुल असर पु¥याएको बताए ।
वाणिज्य संघका उपाध्यक्ष राजु न्यौपानेले तत्काल सडक निमाण सम्पन्न नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिए । उनले स्थानीय सरकारले समेत सडक निर्माणमा चासो नदिएको आरोप लगाएका छन् । सडक अवरोधपछि व्यस्त हुने भद्रपुर– बिर्तामोड सडक खण्डमा आवतजावत प्रभावित बनेको छ ।
आशिष – प्रेरा जेभीले निर्माण गरिरहेको भद्रपुर सडक खण्डमा ढिलासुस्ती भइरहेको छ । सो कम्पनीले निर्माण अधुरो छोड्दा आम नागरिकको जनजीवन नै प्रभावित बनिरहेको छ । २७ करोडमा ठेक्का लिएको कम्पनीले ०७५ असोज महिनादेखि काम थालेको थियो । १८ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको कम्पनीसँग अब काम सक्न ६९ दिन बाँकी छ । हालसम्मको निर्माण अवस्था हेर्दा समयमै काम सकिने संभावना छैन ।